नगरपालिका कार्यालयका लागि जग्गा व्यवस्थापनको पहल गरिने

नगरपालिका कार्यालयका लागि जग्गा व्यवस्थापनको पहल गरिने

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाले कार्यालय भवनका लागि जग्गा व्यवस्थापनमा पहल गर्ने भएको छ । कार्यपालिकाको हिजोको बैठकबाट नगरमार्फत व्यवसायिक भवन (सपिङ कम्प्लेक्स) को काम थालिने तथा नगरपालिका कार्यालयको भवनका लागि जग्गा व्यवस्थापनमा पहल गरिने सहितका निर्णय भएका छन् ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले सरकारको नगर विकास कोषमार्फत ३० करोडको लगानी स्टिेमेटमा पथरी हाटस्थलमा निर्माण हुने सपिङ कम्प्लेक्स निर्माणको प्रक्रिया अघि बढाइने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रको खाली जग्गामा नगरपालिका कार्यालय भवन र वडा कार्यालय भवन निर्माण गर्न जग्गा व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गर्ने पनि निर्णय भएको प्रवक्ता गुरागाईले जनाउनु भयो । अन्यत्र पनि खाली रहेका जग्गाहरुलाई नगरको भोगाधिकारमा ल्याउन पहल गर्ने समेत निर्णय भएको छ ।

बैठकले, नदीजन्य पदार्थको ठेक्का लगाउने, राजस्व परामर्श समितिले अध्ययन गरी कर व्यवस्थापन तथा करको दायरा बढाउँदै व्यवसाय दर्ता र नविकरणमा जोड दिने पनि निर्णय गरेको छ । साथै कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका व्यक्तिहरुका लागि सोही प्रकारको फरक नामको एष्ट्राजेनिका खोप भदौ १२ देखि १४ गतेसम्म वडा वडामा लगाउने निर्णय पनि भएको छ । त्यस्तै, साउन १२ र १३ गते भेरोशिलको पहिलो मात्रा लगाएकाहरुका लागि पनि भदोै १६, १७ र १८ गते दोस्रो मात्रा खोप लगाउने पनि तयारी भएको उल्लेख छ । खोप लगाउन आउँदा खोप कार्ड अनिवार्य रुपमा ल्याउनु पर्ने छ ।

सम्बन्धित खवर