महाधिवेशन तोकिएकै मितिमा हुन्छ ः डा. शेखर कोइराला

महाधिवेशन तोकिएकै मितिमा हुन्छ ः डा. शेखर कोइराला

मोरङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टी सभापतिका दावेदार डा. शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।

मोरङको बुढीगंगा गाँउपालिका कोयलपुरमा मंगलबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य कोइरालाले अब पनि महाधिवेशन सर्ने वा स्थगित हुने कुराको भम्रमा नपर्न सबैलाई आग्रह गरेका छन् ।

‘हाम्रो आफ्नै कारणले भदौमा हुने महाधिवेशन स्थगित हुन पुग्यो । यसको दोष हामी सबैले लिनुपर्छ ।’ केन्द्रीय सदस्य कोइरालाले भने, ‘तर अब मंसीर ९ गतेदेखि १३ गतेसम्म हुने महाधिवेशन तोकिएकै समयमा हुन्छ । अब भम्रमा नपरे हुन्छ, यो टारेर टर्दैन ।’ उनले स्थानीय तहदेखि केन्द्रीय तहसम्म ८ चरणमा हुने पार्टीको अधिवेशनमा सक्रिय हुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

काँग्रेसको महाधिवेशनलाई देशलाई मात्र होइन बिदेशलाई समेत चासो रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले यो पटकको महाधिवेशन मतदानको केही प्रक्रियामा फेरबदल भएको उल्लेख गरे । ‘शायद कोरोना कै कारणले हुन सक्छ, क्षेत्रीय प्रतिनिधिले मात्र मतदाना गर्ने ब्यवस्था गरिएको छ । हामी सबैले यो कुरामा सहमति जनाएका छौँ । अब अधिवेशनको प्रक्रिया शुरु भएको छ । यस कारण फेरि यस बिषयमा बखेडा झिक्नु ठिक हुन्न ।’ उनले भने, ‘क्रियाशिल सदस्यताको विवाद मिलाउन समितिको निर्माण गरिएको छ । त्यो समितिले भोलिसम्ममा आफ्नो काम सक्नेछ । त्यसपछि अधिवेशनको प्रक्रिया शुरु हुन्छ ।’

केन्द्रीय सदस्य कोइरालको पहलमा स्वास्थ्य मन्त्रालयबाट उपलब्ध स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनलाई पार्टी कार्यकर्ताहरुले महाधिवेशनको बिषयमा जिज्ञासा समेत राखेका थिए । उनले स्वास्थ्य मन्त्रालयबाट उपलब्ध २ थान अक्सिजन कन्सन्टे«टर र ८ थान बेड बुढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझी, उपप्रमुख र वडा नम्बर ६ का वडाध्यक्ष दिलिप चौधरीलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य चौकी कोयलपुरका जनस्वास्थ्य निरीक्षक मित्रमणि बस्नेतले उपलब्ध स्वास्थ्य सामाग्री तत्काल कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने जानकारी दिए ।

सम्बन्धित खवर