हसन्दह स्वास्थ्य चौकीमा पहिलो पटक पुग्यो १ थान अक्सिजन सिलिन्डर

हसन्दह स्वास्थ्य चौकीमा पहिलो पटक पुग्यो १ थान अक्सिजन सिलिन्डर

भीमराज अधिकारी, पथरी

शुक्रबार बिहानै एउटा टोली हसन्दह स्वास्थ्य चौकीमा आइपुग्यो । धरान देखि सञ्चारकर्मी जीवन विष्टको नेतृत्वमा १ थान अक्सिजन सिलिन्डर र मास्क, स्यानीटाइजर लगायतका केही स्वास्थ्य सामग्री पनि साथमा थिए ।

मोरङको सुगम क्षेत्र पथरी शनिश्चरे ५ मा रहेको हसन्दह स्वास्थ्य चौकीका लागि ति स्वास्थ्य सामग्री ल्याइएको थियो । हसन्दह स्वास्थ्य चौकीमा आवास सहित स्वास्थ्यकर्मीहरु बस्नसक्ने प्रयाप्त भवनहरु रहेका छन् । साविकको हसन्दह गाविस रहँदा यही स्वाथ्य चौकीले धानेको थियो ।

यही स्वास्थ्य चौकीमा एक थान अक्सिजन समेत थिएन भन्दा पत्याउन मुस्किल हुन्छ । निर्वाचित जनप्रतिनिधिहरु आए, व्यवस्था फेरियो, स्थानीय देखि केन्द्रसम्मका नेताहरु बस्छन् हसन्दहमा तर आम जनताको स्वास्थ्यका लागि कसैले वास्ता गरेन्न । यति सुगम क्षेत्रमा रहेको हसन्दह स्वास्थ्य चौकीमा पहिलोपटक अक्सिजन सिलिन्डर दाताहरुको सहयोगमा आइपुग्यो । २०५६ सालमा स्थापना भएको स्वास्थ्य चौकीमा २२ वर्ष पछाडी एकथान अक्सिजन सिलिन्डर आएको छ । हसन्दह स्वास्थ्य चौकीमा हालसम्म पनि एम्बुलेन्स सेवा समेत छैन् ।

भारतमा रहेका नेपालीहरुको साझा संस्था नेस्नाले आर्थिक रुपमा सहयोग गरेपछि २० लिटरको अक्सिजन सिलिन्डर, सो सिलिन्डरमा लाग्ने सामग्रीहरु र १ थान अक्सिमिटर सहित गरेर २३ हजार एकसय रुपैया बराबरको सहयोग गरिएको विष्टले बताए । यस्तै युकेमा रहेको संस्था जुनकेरी एण्ड मारेन्सका तर्फबाट ८ बट्टा मास्क र स्यानिटाइजर सहयोग गरेको छ ।

स्वास्थ्य चौकीमा यतिका वर्षसम्म पनि अक्सिजन जस्तो अति आवश्यक बस्तु नभएपछि स्थानीय अर्जुन घिमिरेले सहयोगका लागि समन्वय गरेका हुन् । घिमिरेले आफ्नो पहलमा धरान देखिको ढुवानी खर्च समेत आफै व्यहोरेर स्वास्थ्य चौकीमा अक्सिजन ल्याउन भूमिका खेलेका हुन् ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जोग बहादुर धिमाल, नगर जनस्वास्थ्य निरिक्षक मुरारी आचार्य, हसन्दह स्वास्थ्य चौकी प्रमुख चन्द्र राजवंशी लगायतले सहयोगीहरु सबैलाई धन्यवाद दिए ।

सम्बन्धित खवर