पथरी, सामुदायिक वनमा देशैभरमा उत्कृष्ट बनेको हरियाली सामुदायिक वनले फेरी अर्को उचाइ कायम गरेको छ । “सामुदायिक वन अभियान्ता – २०७८” बाट हरियालीका अध्यक्ष काबुल बहादुर मगर सम्मानित भएका छन् ।
मोरङ पथरी शनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मगरलाई नेपाल सरकार वन तथा भू–संरक्षण विभागले सो सम्मान प्रदान गरेको हो ।
यसअघि गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७६ प्रथम हरियाली सामुदायिक वनले प्राप्त गरेको थियो । सो अघि गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७५ सान्तवना, जिल्ला वन कार्यालय मोरङबाट आर्थिक वर्ष ०७४/०७५ प्रथम पुरस्कार, यस्तै आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला स्तरीय द्धितीय पुरस्कार, आर्थिक वर्ष ०७२/०७३ मा जिल्ला स्तरीय सान्तवना पुरस्कार हरियालीले हात पारेको थियो ।
सामुदायिक वन व्यवस्थापनमा उत्कृष्ट भूमिका खेलेका मगरले राष्ट्रिय सम्मान पाएपछि हरियालीले एक कार्यक्रम आयोजना गरेर बधाइ तथा शुभकामना दिएको छ । सो क्रममा हरियालीका सल्लाहकार संयोजक देवी प्रसाद भेट्वाल, हरियाली वन पब्लिक लिमिटेडका अध्यक्ष अशोक साम्पाङ, पत्रकार अर्जुन जम्नेली राई लगायतले शुभकामना मन्तव्य राखे ।
अध्यक्ष मगरले निरन्तरको लगावका कारण आफुले सो पुरस्कार पाउन सफल भएको बताए । कार्यसमिति, सल्लाहकार लगायत सबैको सहयोगले पुरस्कार हात पारेको मगरले बताए । वनको मुख्य कुरा भनेको कार्ययोजना हो र आफुहरुले उत्कृष्ट कार्ययोजना बनाएर काम गरेको मगरले बताए । हरियालीले बिरुवा उत्पादन र वनबाट हुने आर्थिक पाटोलाई पारदर्शी रुपमा राख्ने गरेको मगरले बताए ।