नम्बर लेखन अभियान चलाउदै ट्राफिक प्रहरी पथरी

नम्बर लेखन अभियान चलाउदै ट्राफिक प्रहरी पथरी

पथरी । सडक दुर्घटना गराइ हिट एण्ड रनको केस पथरी टा्रफिकको क्षेत्रमा बढ्दै गएपछि ट्राफिक प्रहरी कार्यालय पथरीले सवारी साधनमा नम्वर लेख्ने अभियान थालेको छ ।
अभियानले दुर्घटना न्यूनिकरणमा सहजता ल्याउनुका साथै दुर्घटना गराई फरार रहेका सावारी साधनलाई नियन्त्रणमा लिन सरल हुने भएकाले प्रहरीले सो अभियानलाई साप्ताहिक रुपमा संचालन गरेको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सुरुवात गरेको सप्ताहब्यापी अभियानमा हालसम्म ८६ वटा सवारी साधनको नम्बर लेखिएको छ ।
सो अभियान बारे ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख शैलेन्द्र कुमार गच्छदारले भन्नुभयो-‘कुनै पनि सवारी साधनले दुर्घटना गरेर भाग्दा समस्या आउने अनि पुराना मोटरसाइकलहरूका प्रायः नम्बरहरू मेटिएको, धमिलो, स्क्राच हुनेभएकोले हामीलाई कारवाही गर्न सहज होस् भन्ने अभिप्रायले यो अभियान अघि बढाइएका हौं ।’
ट्राफिक प्रहरीले यसअघि दुर्घटना न्यूनीकरणकै लागि तीव्र गति नियन्त्रण गर्न राडार गनको प्रयोगबाट सवारी साधनको गति मापन गरी दिनहँु चेकजाँच गर्दै आइरहेको छ ।
कार्यालयले सुनझोडादेखि कानेपोखरी चिसाङ खोलासम्म जनचेतनामूलक बोर्डहरु राखेको छ । ट्राफिक प्रहरी कार्यालय पथरीले आम सवारी चालक र यात्रुहरुलाई दुःख नहोस् भनेर जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर