सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर

सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर

रासस / नेकपा (माओवादी केन्द्र)बाट नेकपा एमालेमा प्रवेश गर्नुभएका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ । नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

उहाँहरुले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी सांसद पद पुनर्बहालीका माग गर्दै रिट निवेदन दर्ता गराउनु भएको छ । उहाँहरुले नेकपा (माओवादी केन्द्र), निर्वाचन आयोग, सङ्घीय संसद् सचिवालय, माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्ष बनाई रिट दायर गर्नुभएको हो । रिट निवेदनमा आफूहरु २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा संविधानको धारा ८४ (१) को (क) बमोजिम निर्वाचित भएको र संविधानको धारा ८५ वमोजिम निर्वाचित भएको मितिले पाँच वर्षसम्म रहने व्यवस्थाअनुसार आफूहरु सो पदमा रहनुपर्ने माग गर्नुभएको छ ।

नेकपा (एमाले)मा उहाँहरु चारै जना प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पद मुक्त गरेको थियो । रिट निवेदनमा संविधान र प्रचलित कानूनले निर्धारण गरेको आधार बिना नै सांसद पद रिक्त गर्न गरिएको निर्णय संवैधानिक र कानूनी व्यवस्था प्रतिकूल रहेको उल्लेख गरिएको छ । उहाँहरुले दल त्याग गरेको आधारमा आफ्नो सांसद पद रिक्त गरिएको नभई दल त्यागको आरोप लगाई दलबाट निष्काशन गरिएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खवर