राजेन्द्र महतो, लहान
सिरहामा करेन्ट लागेर चौपाया सहित एक जनाको ज्यान गएको छ । सिरहाको धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टीमा बिहान करिब ५ः३० बजे स्थानीय बौका भनिने ३८ वर्षिय प्रमोद यादवको करेन्ट लागेर मृत्यु भएको हो।
यादव बिहान भैंसी लिएर पोखरीमा पानी खुवाउने क्रममा करेन्ट लाग्दा यादवको मृत्यु हुनुका साथै भैंसी पनि मरेको इलाका प्रहरी कार्यालय धनगढीले जनाइएको छ। धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टी स्थित जीर्ण अवस्थाको पोखरीमा स्थानिय बाटोमा ढल निर्माणको लागि विद्युतको खम्भाबाट तार डाइरेक्ट तानेर पोखरीमा मोटर जडान गरी तार खुल्ला छोडिएको स्थानीयले बताएका छ्न् ।
उक्त स्थानमा ढल निर्माणको लागि उपभोगता समिति मार्फत काम थालिएको छ। घटना पछि उपभोक्ता समितिका सदस्यहरु संपर्क विहिन रहेका छन् । मृतक यादबको एक छोरा र पाँच छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अबस्था कमजोर रहेकोले यादव परिवारले ज्याला मजदुरी गरेर जीवन धान्दै आएका थिए ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



