पथरी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत कृषि सामग्री वितरण गरेपछि किसान हर्षित भएका छन् ।
मोरङ पथरी शनिश्चरे वडा नं. ६ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको ‘‘धान ब्लक’’ कार्यक्रम सञ्चालनमा रहेको छ । सो परियोजनाको समन्वय समितिले सोमबार कृषि सामग्री वितरण गरेको हो ।
कृषि ज्ञानकेन्द्र सुनसरीको २५ लाख र समितिबाट २४ लाख ५ हजार गरी जम्मा ४९ लाख ५ हजारको कार्यक्रम सञ्चालनमा रहेको समितिका अध्यक्ष योगेन्द्र रायमाझीले जानकारी दिए । २२५ विगाहा जग्गाका २१० घरधुरी धान ब्लकमा समावेश रहेका छन् । ज्ञानकेन्द्रको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लगानीमा कृषिका लागि आवश्यक सामग्री पावर टिलर ४ थान, मिनि टिलर ३ थान, बोडिङ्ग गडाइ समेत ३० वटा, मोटर २ एचपी ३८ थान, रिपर १ थान, पावर स्पेयर ३० थान, धान बीऊ, कृषि सम्बन्धीका तालिम गोष्ठीहरु सञ्चालन गर्ने सम्झौता भएको छ ।
कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले कृषिमा आधुनिकता ल्याउने बताएका छन् । आउने वर्षबाट कृषकका लागि मोबाइल एप्लीकेसनको निर्माण गरी घरबाट नै आफ्नो बालीका बारेमा कृषि विज्ञसंग कुरा राख्न सकिने र त्यसको समाधान, उपचार पद्धतिका बारेमा जानकारी लिन सकिने बताए ।
धान ब्लकबाट चाडै नै धान जोनमा जाने तयारी गर्न सुझाव दिदैँ राईले कृषिका लागि नगरले अझ राम्रा योजनाहरु ल्याउने आश्वासन दिए ।
वडा अध्यक्ष जय बहादुर तामाङले आफ्नो वडामा धान ब्लक ल्याउन सफल भएको र आगामी दिनमा यसलाई अझै व्यवस्थित बनाएर लाने प्रतिवद्धता जनाए । धान जोनका लागि ५०० विगाहा जग्गा चाहिने भएकाले धेरैजना कृषक मिलेर समुह बनाउन तामाङले सुझाव दिए ।
आउने वर्ष देखि धानको बीऊ उत्पादन गर्ने र बजारमा पठाउने समुहले तयारी गरेको छ । आम्दनी पनि बढि हुने र बजार पनि राम्रो पाउने भएपछि धानको बीऊ उत्पादनका लागि कृषकहरु लागि परेका छन् ।