पैसा अभावमा दुवै मृगौला फेल भएका दर्जी घरमा छट्पटाउदै, सहयोगको याचना

पैसा अभावमा दुवै मृगौला फेल भएका दर्जी घरमा छट्पटाउदै, सहयोगको याचना

पथरी, मोरङ पथरी शनिश्चरे ३ का ३१ वर्षीय सुजन दर्जी दुवै मृगौला फेल भएपछि यतिबेला घरमै छट्पटाइरहेका छन् । उपचार खर्च अभाव भएपछि दर्जीले मनकारीहरुसंग सहयोगको याचना गरेका छन् ।

विगत १ महिना अघि मात्रै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नोवेल मेडिकल कलेज बिराटनगर पुगेका दर्जीको दुवै मृगौला फेल भएको पत्ता लागेको हो । करिब १४/१५ दिन नोवेल बसेर डायलासिस गरेरका दर्जीको उपचार गर्न रकम अभाव भएपछि अहिले घरमा पिडा सहेर बस्न बाध्य भएका छन् ।

डेढवर्ष अघि विवाह गरेका दर्जीका सन्तान छैन्न । बुवाआमाको पनि मृत्यु भएपछि अहिले श्रीमती पूजा र ७० वर्षकी हजुरआमा गरी ३ जना संगै बस्दै आएका छन् । सुजनकी श्रीमती पूजा पनि अहिले बिरामी भएपछि अस्पतालमा स्वास्थ्य लाभ गरिरहेकी छन् । हजुरआमा पनि दीर्घ रोगी रहेको र सुगर, प्रेसरको औषधी निरन्तर प्रयोग गरिरनुपर्ने अवस्था छ ।

सुजनको जम्मा १५ धुर जग्गा मात्रै रहेको छ । बस्ने घरपनि नभएपछि तेस्रो देश पूनर्वास भएका भुटानी शरणर्थीहरुको सहयोगमा भुइ ढलाइ गरिदिएका छन् । छानाका लागि नगरपालिकाले रकम उपलब्ध गराएको र वरीपरी बारबेरका लागि छिमेकीहरुले बाँस सहयोग गरेर बारबेर गरिदिएको छिमेकी अर्जुन काफ्लेले बताए ।

दर्जीको उपचारका लागि कतारमा रहेका नेपालीहरु र स्थानीयहरुले करिब १ लाख ५० हजार सहयोग जुटाएर उपचार गराएका थिए । १५ दिनको बसाइमा सो रकम पनि सकिएपछि अहिले दर्जी जीवन मरणको दोसाँधमा छन् ।

सुजनको परिवारको नेपाल सरकारले गर्ने स्वास्थ्य बिमा समेत छैन् । डाक्टरको सल्लाह अनुसार सुजनको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ । कति रकम लाग्छ भन्ने एकिन भएको छैन् तर अब अस्पताल जानका लागि गाडी भाडा समेत सुजनसंग नभएपछि सबैले सहयोग गरिदिन अपिल गरेका छन् । सहयोग गर्न इच्छुकहरुका लागि सुजनका परिवारले कामना सेवा विकास बैंक पथरी शाखामा रहेको सुजन दर्जीको खाता नं. ०८०११२००३७३५२४०००००१ समेत उपलब्ध गराएका छन् ।

सम्बन्धित खवर