तरकारी खेतीका लागी कृषि उपकरण वितरण

तरकारी खेतीका लागी कृषि उपकरण वितरण

भनेको बेला गोरु पाइदैन, आफैँ जोत्न पनि गाह्रो तर यो मिनि टिलर पाएपछि अब आफैँ आरामले बारी जोतेर तरकारी खेती गरिन्छÞ, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत तरकारी ब्लक कार्यक्रम लागु भएको लेटाङ–९ जाँतेका कृषक रुद्र प्रसाद अधिकारीले अनुदानमा मिनि टिलर पाएपछि खुसी हुँदै सुनाए ।

मोरङको लेटाङ–९ जाँतेमा तरकारी खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजारहरु वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकिकरण परियोजना कृषि ज्ञान केन्द्र मोरङ तथा तरकारी ब्लक संचालक समितिले सो सामाग्रीहरु वितरण गरेको हो । ३ वर्षसम्म तरकारी पकेट कार्यक्रम संचालन भएको सो क्षेत्रमा २ वर्ष तरकारी ब्लक कार्यक्रम सफलता पूर्वक संचालन भएको छ । अब तरकारी जोनको कार्यक्रम संचालनको तयारी गरीरहेको सो समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी मिनि टिलर, अरवाना (ठेला), डिजिटल काँटा, टनेल, स्पे्र मेसिन लगायतका सामाग्री वितरण गरेको हो ।


समितीले प्रदान गरेको मिनी टिलरको बजार मूल्य १ लाख १० हजार रुपैँया रहेको छ । समितिले प्रदान गरेको अरवानाको मूल्य ५ हजार रुपैया, टनेल ४ हजार रुपैँया र स्पे्रको मूल्य २ हजार पाँच सय देखी ५ हजार ५ सय सम्म रहेको समितिको सचिव भूमिका मगरले जानकारी दिनुभयो । समितिले कृषकलाई ७ थान मिनि टिलर, २० थान ठेला, ४० थान टनेल र ३० थान स्पे्र प्रदान गरेको हो ।

तरकारी ब्लक संचालक समितिले आयोजना गरेको सो कार्यक्रममा प्रदेश १ का प्रदेश सांसद उपेन्द्र प्रसाद घिमिरे, कृषि ज्ञान केन्द्र मोरङ, सुनसरीका प्रमुख नुनुलाल उराव, मोरङ जिल्ला समन्वय समितीका अध्यक्ष नरेश पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद घिमिरेले कृषकहरुको सकृयताले तरकारी पकेट कार्यक्रम र तरकारी जोन कार्यक्रम सफल भएको बताउदै सोहि सक्रियता कायम राखी तरकारी जोनको रुपमा जाँतेलाई विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र मोरङ, सुनसरीका प्रमुख उरावले महिलाहरुको सहभागीतामा विना कुनै विवाद सम्पूर्ण योजनाहरु सफल भएको बताउदै समितिको सक्रियताको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

कार्यक्रममा समितीको प्रगती विवरण प्रस्तुत गर्दै समितिको सचिव भूमिकादेवी मगरले समितिलाई तरकारी ढुवानीका लागी साधन र तरकारी संकलनका लागी भवनको आवश्यकता भएकाले सो को व्यवस्थापन गरिदिन कृषि ज्ञान केन्द्रलाई अनुरोध गर्नुभयो ।

तरकारी ब्लक संचालक समितिको अध्यक्ष मथुरा अधिकारीले संकलन केन्द्रको अभावमा विचौलिया मार्फत तरकारी बेच्न बाध्य भएको बताउदै कृषकले उचित मूल्य पाउन नसकेको चर्चा गनुभयो । अध्यक्ष अधिकारीले उन्नत जातको विउ, विजन, बाली विमा कार्यक्रम, जैविक मलको व्यवस्थापन गर्न सके तरकारी खेतीले कृषकलाई व्यवसायीक हुन अझ मद्धत पुग्ने बताउदै सोको व्यवस्थापनका लागी अनुरोध समेत गर्नुभयो ।

सम्बन्धित खवर