गुडिरहेको टिपरमा आगलागी

गुडिरहेको टिपरमा आगलागी

रासस
सिरहा / पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफँै आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिपर पूणर् रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

दलित बस्तीमा सोलार बत्ती

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुलीबत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार प्यानल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विचलगायत सामग्री हस्तान्तरण गर्नुभयो ।

यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ । आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था उकास्नका लागि विभिन्न सीपमूलक तालीमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो ।

सम्बन्धित खवर