३ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ ।
बैठकले राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफ्नो पक्ष नै जसपाको आधिकारिक हो भनेर बहुमत सदस्यहरू निर्वाचन आयोगमा भौतिक रुपमै उपस्थित भएर निवेदन दिने निर्णय गरेकाे हाे । यस्तै बैठकले ढुंगा, गिटी लगायत खानीजन्य निर्माण सामाग्री निकासीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । आजको बैठकमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरई अशोक राई, राजेन्द्र श्रेष्ठलगायत उपस्थित थिए ।