मेलम्ची बाढी अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

मेलम्ची बाढी अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

मेलम्ची : मेलम्ची नदीमा आएको बाढीमा थप तीन जनाको शव भेटिएको छ। बिहीबार शव भेटिएकामा दुई चिनियाँ र एक भारतीय छन्। ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए। यो सँगै बाढीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

यसअघि बुधबार सात जनाको शव भेटिएको थियो। बाढीमा १३ जना बेपत्ता रहेको एसपी एसपी राजन अधिकारीले जानकारी दिए। बेपत्ताको खोजी र उद्धार कार्य जारी रहेको उनले बताए।

मेलम्ची नदीमा बिहीबार पनि नदीको बहाव बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नदीमा बाढी घट्दै गएपछि आफ्ना घरभित्रका सरसामान लिन प्रवेश गरेका स्थानीय बाढी आउने चतावनीपछि सुरक्षित ठाउँतर्फ लागेका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः थुनिएको अनुमान गरिएकाले त्यसतर्फ टोली खटाइएको पनि जानकारी दिए। तर उक्त टोलीसँग सम्पर्क नभएकाले पहिरो नै गएका कारण खोला थुनिएको भनेर यकिन गर्न नसकिने जानकारी दिए।

‘मेलम्ची खोला पुनः थुनिएको अनुमान गरिएको छ। हामीले त्यसतर्फ टोली पनि पठाइसकेका छौं। तर पहिरो नै गएको भनर यकिन भइसकेको छैन। त्यसतर्फ गएको टोलीसँग सम्पर्क हुन सकेको छैन’, प्रजिअ पोखरेलले भने।

 

सम्बन्धित खवर