बलियो बन्दै एमाले एकता, दुवै पक्ष जेठ २ को संरचनामा स्थायी कमिटी बैठक बसाउन सहमत

बलियो बन्दै एमाले एकता, दुवै पक्ष जेठ २ को संरचनामा स्थायी कमिटी बैठक बसाउन सहमत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुग्नुभएको छ ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले तीनवटै समूह सहमतिनजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।

प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार छ । ती प्रदेशहरूमा ओली र नेपाल समूह एकजुट छन् । गण्डकी प्रदेशमा एमालेकै सरकार थियो । पछिल्लो समय कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनेको छ । यहाँ एमालेको सरकार जोगाउन ओली र नेपाल समूह एकजुट नै थिए तर सरकार जोगाउन सकेनन् ।

कर्णालीका चार सांसदलाई एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा कारबाही गरिएको थियो । तर, सो कारबाही सर्वोच्चले मान्यता नदिएपछि प्रदेशस्तरबाटै एमाले एकताका लागि दबाब सुरु भएको हो । शीर्ष नेताहरूले समेत अन्य विवादित विषय थाँती राख्दै बैठकबाटै समस्या समाधान गर्न सहमत भएका छन् । यसअघि प्रदेशमा नै असन्तुष्ट बनेका केन्द्रीय तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतसमेत पार्टी एकताको पक्षमा देखिएका छन् ।

प्रदेशमा पार्टीलाई एकजुट राख्न पछिल्लो समय नेतृ शाक्य र नेता आचार्यको महत्वपूर्ण भूमिका रहेको कार्यकर्ताको विश्लेषण छ । पछिल्लो समय एमाले विवाद मिलाउन एमालेका दर्जन बढी दोस्रो पुस्ताका नेता सक्रिय रहँदै आएका छन् । उनीहरूले समेत शीर्ष नेतालाई दबाब दिँदै मिल्न बाध्य बनाएका हुन् । २ जेठकै कमिटीको संरचनाअनुसार स्थायी कमिटीको बैठक बस्ने भएपछि नेपाल र गौतम समूहको माग पूरा हुने देखिन्छ ।

तर, माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरूको हकमा सोही बैठक वा दोस्रो बैठकबाट पार्टीमा जिम्मेवारी दिने विषयमा निर्णय गरी समेट्ने गरी अघि बढ्ने विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । यसैबीच, एमाले उपमहासचिव विष्णु पौडेल सोमबार उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुग्नुभएको थियो ।

करिब ४ घण्टा लामो समय छलफल गरेका गौतम र पौडेलबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले बताउनुभयो । एमाले स्रोतका अनुसार आ–आफ्नो अडानमा रहेका नेताहरूको अहिलेको अवस्थामा स्थायी कमिटी बैठक कसरी बोलाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । यसअघि पौडेलले वरिष्ठ नेता नेपालसँग समेत छलफल गर्नुभएको थियो

यसअघि ओली र नेपालले छुटाछुटै विभिन्न ६ बुँदे प्रस्ताव गर्दै एकताका लागि आह्वान गरेका थिए । तर, एकले अर्काको प्रस्ताव अस्वीकार गर्दै आउनुभएको थियो । विवादकैबीच ओलीलाई भेट्नुभएको थियो । गौतमले २ जेठको संरचनाअनुसारको स्थायी कमिटीको बैठक बोलाएर त्यहीँबाट समस्या समाधान गर्न अपिल गर्नुभएको थियो ।

सम्बन्धित खवर