पथरी शनिश्चरे ९ ले गर¥यो निःशूल्क पशु स्वास्थ्य शिविर

पथरी शनिश्चरे ९ ले गर¥यो निःशूल्क पशु स्वास्थ्य शिविर

प्रेम प्रसाद भट्टराई, पथरी

मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ९ ले आज वडाका २ स्थानमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

‘समुन्नत पशुपंक्षी तथा माछापालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने मुल नाराका साथ शनिश्चरे हाट र महेन्द्र चोकमा शिविर सम्पन्न गरिएको हो । शिविरमा वडाध्यक्ष भानुभक्त राई, कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य इन्द्रावती गुरुङ, कुरुक्षेत्र नेपाल, वडा सचिव दीर्घराज राय सहितको उपस्थिती रहेको थियो ।

पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन नगर समितिका अध्यक्ष पुष्पबहादुर पौडेल, सचिव देवराज आचार्य, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, शाखाका पर्वत शाह सहितले पशुपंक्षीको अवस्था बुझी उनीहरुका लागि निःशुल्क औषधि प्रदान गर्नुभयो ।

शिविरमा ३ सय ३८ घर परिवारका १ हजार १४ गाईभैंसी, १ हजार ६ सय ९० बाख्रा, २ हजार ३ सय ६६ वंगुर, ४ हजार २ सय ३० कुखुरा र १६ वटा कुकुरका लागि औषधि वितरण गरिएको छ । वडाको १ लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै, नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विषयगत समितिमार्फत आएका नीति माथि छलफल गर्दै आज बसेको कार्यपालिका बैठकले नगरसभाका लागि प्रस्ताव गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकमा नगरमा रहेका ६ वटा विषयगत समितिले तय गरेको नीतिमाथि छलफल भइ त्यसलाई नगरसभामा पेश गर्नका लागि पारित गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

नगरले तय गरेको नीतिमा रहेर वडा वडाबाट कार्यक्रम तय गर्ने क्रममा छ । असार १० गते हुने नगरसभाका लागि अवको बैठकले निश्चित कार्यक्रम र बजेट तय गर्नेछ ।

सम्बन्धित खवर