सुनवर्षीबाट जिउँदो कछुवा बिक्री हिँडेका चार जना पक्राउ

सुनवर्षीबाट जिउँदो कछुवा बिक्री हिँडेका चार जना पक्राउ

विराटनगर : प्रहरीले जिउँदो कछुवा बिक्री गर्न जाँदै गरेका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१ पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षीय जीवन गुरुङ, सुनवर्षी नगरपालिका–१ केचना शुक्रबारे बस्ने २५ वर्षीय दीपक भन्ने मेघराज थापा, सोही स्थानका २१ वर्षीय निरज खड्का र २० वर्षीय आकाश रायमाझी रहेका छन् ।

शनिबार राति १२ बजे सुनवर्षी नगरपालिका–८ सिक्टीविश्वकर्मा–कुँडेली सडकखण्डमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१०प ५६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पथरीशनिश्चरे जीवन गुरुङ र पछाडी सवार सुनवर्षीका मेघराज थापाले खैरो रङको झोलाभित्र अन्दाजी ८ केजी तौल भएको कछुवा फेला परेको थियो ।

अनुसन्धानका क्रममा को २३ प ५९३१ नम्बरको मोटरसाइकलमा सवार सुनवर्षीकै निरज खड्का र आकाश रायमाझीको उक्त कछुवा ल्याउनमा सहयोग रहेको पाइएपछि चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार जिउँदो कछुवा उनीहरूले बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक रिपोर्टले जनाएको छ । यस्तै उनीहरूलाई सव डिभिजन वन कार्यालय आमतोला रङ्गेलीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

सम्बन्धित खवर