मन्त्रिपरिषदले पायो पूर्णता, खगराज गृह र सञ्चारमा बादलपत्नी

मन्त्रिपरिषदले पायो पूर्णता, खगराज गृह र सञ्चारमा बादलपत्नी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।

प्रधानमन्त्री ओलीको पक्षमा उनी संसदमा विपक्षीमाथि खरो ढंगले प्रश्न उठाउँथे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेका थिए ।

पार्टिमा खारो रुपमा उत्रिएकै कारण बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् । रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बनेका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खोमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।

२७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहो¥याए । तर सर्वोच्चले ६ जेठमा संविधानको धारा ७८ अनुसार भएका बाललसहितका ७ मन्त्रीलाई पदपुक्त गरिदियो ।

उनीहरुको माग फेरि आफूहरुलाई नै मन्त्री नियुक्त गरियोस् भन्ने थियो । तर प्रधानमन्त्रीले सर्वोच्चको आदेशका कारण नमिल्ने बताएपछि मन्त्रीमा नैनकलाको इन्ट्री भएको एक पूर्व मन्त्री बताउँछन् । उनले भने, ‘हाम्रो लिगेसी रहोस् भनेर उहाँलाई मन्त्री बनाएका हौं ।’

अरु को को भए मन्त्री ?

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्री ओलीमाथि थियो ।

एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले जेठ २ मा फर्किने सार्वजनिक प्रतिवद्धता जनाएकाले आफू मन्त्री हुन तयार भएको नवनियुक्तमन्त्री पहाडीले अनलाइनखबरलाई बताए ।

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

सम्बन्धित खवर