प्रदेश १ को बजेट अधिवेशन : सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त

प्रदेश १ को बजेट अधिवेशन : सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त

विराटनगर : आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता माथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा सिद्धान्त र प्राथमिकतामा उठेको पश्नहरुको जवाफमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ(लिम्बू)ले प्रदेशको साधन र स्रोतलाई पहिचान गरी उचित ढङ्गले बजेट आउने बताउनुभयो ।

उहाँले कोभिड र राजनीतिक तरलताको परिवेशमा अघि बढ्नु परेको चर्चा गर्दै प्रदेशसभा सदस्यहरुले उठाउनु भएको सल्लाह र सुझावलाई ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री आङ्बुहाङले बजेटले आर्थिक र सामाजिक पक्षका सबै विषयलाई समेट्ने दावी गर्दै सरकारले कोभिड उपचार एवं रोकथामलाई पहिलो प्राथमिकता दिने चर्चा गर्नुभयो । उहाँले बजेटले कृषि, पर्यटन, सिँचाई जस्तै महिला, अशक्त र सीमान्तकृत वर्गलाई पनि ध्यान दिने बताउँदै आफ्नै स्रोत र साधनको धरातलमा उभिएर बजेट बनाउने धारणा राख्नुभयो । उहाँले पुरानो योजनाहरुलाई सम्पन्न गरेर मात्र थप र नयाँ योजनाहरुमा बजेट केन्द्रित गर्ने भन्दै सरकारले सन्तुलित ढङ्गले विकास गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।

बजेट विनियोजनको विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतामा प्रदेशसभा सदस्य उमिता विश्वकर्मा, जयराम यादव, धीरेन्द्र शर्मा, निलम राई, प्रतापप्रकाश हाङ्गाम, विमल कार्की, ताहिर मियाँ, रामकुमार राई, लीला सुब्बा, लोकप्रसाद सङ्ग्रौला, शेखरचन्द्र थापा, र सञ्जाकुमार दनुवारले आ–आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले सरकारले प्रदेशसभा सदस्यहरुसँग लिएको सल्लाह र सुझावलाई पालना गर्नु पर्ने भन्दै बजेटको सिद्धान्त र प्राथमिकतामा विनियोजित बजेट कार्यान्वयमा सरकारले जोड दिनुपर्ने भत्रुभयो । उहाँहरुले सरकारले कोभिडको उपचार एवं रोकथाम, कृषि, पर्यटन, सिँचाई, रोजगारी विशेष ध्यान दिनु पर्ने भन्दै सरकार जनताको आशा र भरोसालाई पूरा गर्नु पर्ने धारणा राख्नुभयो ।

बजेटकै सिद्धान्त र प्राथमिकतामा रासस

प्रदेशसभा सदस्य सूयर्माराज राईले सरकारले सञ्चार क्षेत्रको विकासमा गतिलो काम गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले सरकारको मातहतमा रहेका गोरखापत्र, रेडियो नेपाल , राष्ट्रिय समाचार समिति(रासस) र नेपाल टेलिभिजन मध्ये समाचार मात्र पस्किने सेवामूलक संस्था राससलाई सरकारले यथोचित बजेट विनियोजन गर्नु पर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेस संसदीय दलका सचेतक समेत रहनुभएका सदस्य राईले अन्य सञ्चारमाध्यम विज्ञापन र पत्रिका बिक्री गरेर पनि मनग्य आम्दानी गर्ने र रासस सरकारको अनुदानमा मात्र सीमित रहनु पर्ने भएकोले राससलाई समयअनुकूल सुदृढ, सबल र सक्षम बनाउन प्रदेश सरकारले बजेट विनियोजन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

विशेष समय

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सदनमा विशेष समयमा बोल्दै सरकार आवश्यकता र समस्यामा उभिन नचाहेको आरोप लगाउनुभयो । उहाँले निजी क्षेत्रका अस्पतालले चर्को शुल्क लिएर बिरामीको उपचार गरिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सरकारले जनतालाई ढाँटने काम होइन राहत र सहुलित दिनु पर्ने कुरामा जोड दिनुभयो । शिक्षक र विद्यार्थीलाई खोप लगाएर मात्र विद्यालय सञ्चालन हुनु पर्ने भन्दै प्रमुख सचेतक कार्कीले बजेट घाटा कम गर्न नदी उत्खनन गर्नु र चुरे दोहन गर्नु न्यायोचित नभएको बताउनुभयो ।

शून्य समय

शून्य समयमा प्रदेशसभा सदस्य कल्पना कुमारी सरदारले कोभिडको महामारीको समयमा सरकारले रोजगार गुमाएका र समस्यामा परेका परिवारलाई राहत वितरण गर्नुपर्ने माग गर्नुभयो । सदस्य कुसुमकुमारी श्रेष्ठले सरकारले अहिलेको सङ्कटमा दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत छुट दिनु पर्ने माग गर्नुभयो । अर्का सदस्य चुमनारायण तवदारले सरकारले आमनागरिकलाई बाढी र डुबानबाट बचाउन नदी तटबन्धको कामलाई तीवता दिनु पर्ने भन्नुभयो । प्रदेशसभा सदस्य राधा थापाले कोरोना सङ्क्रमितलाई सरकारले उचित ढङ्गले उपचारको व्यवस्था मिलाउनु पर्ने कुरामा जोड दिनुभयो । सदस्य हिमाल कार्कीले प्रदेशसभाको नैसर्गिक अधिकारलाई सरकारले हनन गर्न नहुने भन्दै सरकार चुरे संरक्षण, नदी नियन्त्रण एवं उत्खननमा विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो ।

प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह ३ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर