पथरी शनिश्चरेमा ६२ देखि ६४ वर्षसम्माका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पथरी शनिश्चरेमा ६२ देखि ६४ वर्षसम्माका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पथरी, मोरङको पथरी शनिश्चरे नगरले जेठ २६ देखि २९ गतेसम्म ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउने भएको छ ।

नगरको सामाजिक विकास समितिको आजको बैठकले संघीय सरकारको योजना अनुरुपको खोपको कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गरी सो निर्णय गरेको समितिका सदस्य सचिव मुरारी आचार्यले जनाउनु भयो ।

समितिका संयोजक कपिलमणि ढकालको अध्यक्षताको बैठकमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल सहितको उपस्थिती रहेको थियो ।

बैठकमा, खोपको प्राविधिक पक्षका बारेमा स्वास्थ्यकर्मी जगत मगरले प्रष्ट्याउनु भएको थियो । खोप कार्यक्रमका लागि पथरी नगर अस्पतालबाट वडा नम्बर १ को २६ गते, २ को २७ गते, ३ को २८ गते र ७ को २९ गते खोप लगाइने छ । शनिश्चरे स्वास्थ्य चौकीबाट २६ गते वडा नम्बर ४ को, २७ गते ८ को, २८ गते ९ को र २९ गते १० को सो उमेर समूहका लागि खोप लगाइने छ । हसन्दह स्वास्थ्य चौकीबाट २६ गते वडा नम्बर ५ को र २७ गते ६ को खोप लगाइने तालिका बनाइएको छ ।

खोप लगाउन आउनेले नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र ल्याउनु पर्ने छ । यदि ती दुवै कागजात तत्काल उपलब्ध हुने अवस्था नभएमा वडा समितिको सिफारिस अनिवार्य आवश्यक रहने निर्णय भएको छ ।

सिकिस्त विरामी परेका, ७ दिनभित्रको सुत्केरी, गर्भवती, कोरोना नेगेटिभ आएको १ महिना नभएको व्यक्ति, कोरोना संक्रमित भएको र प्लाज्मा थेरापी लिएको ३ महिना नभएको व्यक्तिले खोप लगाउन नमिल्ने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

पहिलो मात्रा ‘कोभिसिल्ड’ खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठहरुका लागि दोस्रो मात्राको खोपको पनि प्रवन्ध हुँदै गरेको छ ।

सम्बन्धित खवर