मोरङसुनसरी समाजद्वारा १५ लाख बराबरको अक्सिजन सिलिन्डर सहयोग

मोरङसुनसरी समाजद्वारा १५ लाख बराबरको अक्सिजन सिलिन्डर सहयोग

रबिन्द्र बराल, रंगेली

मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाई १५ लाख बराबरको ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ ।

सुन्दरहरैंचा ९ बिराटचोकमा एक कार्यक्रमको आयोजना गरि सिलिण्डरहरु हस्तान्तरण गरिएको छ । विभिन्न सामाजिक सेवादेखि मातृभूमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानीय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको र बिदेशमा रहेका शाखाहरुको सहयोगमा सिलिन्डर सहयोग गरेको हो ।

अस्ट्रेलिया, कतार, युएई, साउदी अरब, बहराइन, कुवेत, माल्टा, ओमान, जापान, यूके, यूरोप, दक्षिण कोरिया तथा अमेरिकामा रहेका मोरङ सुनसरी समाजका युवाहरुको सहयोगमा मोरङका स्थानीय तहहरुलाई कोरोना भाईरसबाट बच्न अक्सिजन नपाएको अवस्थामा यो सहयोग गरेका हुन् ।

मोरङ सुनसरी सेवा समाज नेपालका अध्यक्ष लोक बहादुर तामाङ, मोरङ सुनसरी सेवा समाज नेपालका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु गोकुलबहादुर थापा, मिलन खत्री, रमनाथ भण्डारी, बद्री बिमली, कतारका संस्थापक चानक पोख्रेल लगायतले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए । उक्त सिलिन्डर मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाइ नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष तामाङले बताए ।

यसअघि पहिलो चरणमा मोरङको केराबारी र सुनसरीको रामधुनी नगरपालिकालाई अक्सिजन सिलिन्डर वितरण गरिसकिएको थियो । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, बेलबारी उपमेयर ढाकाकुमारी पराजुली, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरे, रंगेली नगरपालीकाका प्रशाशकीय अधिकृत कृष्ण भट्टराई, लगायतको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खवर