नेपालमा पनि कालो ढुसी देखियो, एकजनाको ज्यान गयो

नेपालमा पनि कालो ढुसी देखियो, एकजनाको ज्यान गयो

पछिल्लो समय भारतमा देखा परेको कालो ढुसीको संक्रमण नेपालमा पनि देखिएको छ । कालो ढुसीका कारण बिहिबार एकजनाको निधन समेत भएको छ ।

बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् तर परीक्षण नगरिएका कारण पुष्टि हुन सकेन । धनगढीको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा भने कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब एक दर्जनमा कालो ढुसीको संक्रमण पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा डेढ सय जनामा यसको संक्रमण देखा पर्न सक्ने चेतावनी दिइसकेका छन् ।

शिक्षण अस्पताल, महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेले एकाध महिनामा संक्रमण बढेर डेढसयको संख्यामा पुग्ने अनुमान गरेका छन् तर यसको उपचारमा प्रयोग हुने औषधि भने अभाव छ ।

सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मौज्दात रहेको औषधि बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको व्यक्तिलाई दिइएको थियो । अब थप संक्रमण आए औषधि छैन् । औषधि उपलब्ध गराउन आज बिहीबार मात्र मन्त्रालयलाई पत्राचार गरेको श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित खवर