पथरी शनिश्चरेमा लकडाउन फेरी थपियो

पथरी शनिश्चरेमा लकडाउन फेरी थपियो

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्काे सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत बन्द गर्ने निर्णय भएको छ ।

नगर उपप्रमुख एवम् समन्वय समिति सहसंयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षतामा नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै अर्काे सूचना नभएसम्मका लागि औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत बन्द गर्ने निर्णय गरेको हो । बैठकले, जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले जेठ १७ गते राती १२ बजेदेखि जेठ २४ गते राती १२ बजेसम्मका लागि थप गरेको निषेधाज्ञा आदेश पालना गर्न प्रचार प्रसार गर्दै अनुगमन् गर्ने र त्यसको उल्लंघन गरेको पाइएमा प्रहरी प्रशासनबाट आवश्यक कारबाही समेत गरिने पनि निर्णय गरेको छ ।

निर्माण सामग्री बोक्ने मालबाहक यातायात साधनमा चालक बाहेक बढीमा २ जना सहयोगी मात्र रहने समेत यस अघिको बैठकले निर्णय गरेको थियो । वडा वडामा निषेधआज्ञाको अनुगमन् गर्न प्रहरी प्रशासन सहितको संयन्त्रको सक्रियतालाई निरन्तरता दिने समेत निर्णय गरिएको छ । बैठकमा, हालसम्म नगरमा २ सय ३ जना संक्रमित भएकोमा ७६ जना निको भएका छन् भनें १० जनाको मृत्यु भएको जानकारी गराइएको छ । नगर अस्पतालको आइसोलेनमा हालसम्म ११ जना आएमध्ये ४ जना डिस्चार्ज, २ जना रेफर र ५ जना उपचाररत रहेका छन् । हाल नगरमा ११७ जना सकृय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर