कनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग, साइकल चडेर जान्छन् नगरपालिका

कनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग, साइकल चडेर जान्छन् नगरपालिका

झापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको रु १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नुभएको छ ।कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । उहाँले रु १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गर्नुभएको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

विकासप्रेमी नगरप्रमुखको पहिचान बनाउनुभएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको थियो । नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । त्यहाँ रु. २ करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य छ । यसका लागि नगरको चालु बजेटबाट रु. १ करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगीहरुबाट रु १ करोडको आश्वासन प्राप्त भएको उहाँले बताउनुभयो । अस्पताललाई ५० शय्यामा विस्तार गर्नेसमेत नगरको योजना छ ।

“कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन्”, उहाँले भन्नुभयो, “अहिले बरु सडक पक्की गर्दैनौँ, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौँ ।” अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले पहिलो वर्ष यही सुविधावापत पाएको रु. ३ लाख ४० हजार नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७४÷७५ मा गाडी खरिद शीर्षकमा नगरपालिकाले छुट्याएको रु ४० लाख बजेट नगरप्रमुखले सडक निर्माणमा लगाउनुभएको थियो । वि.सं २०७० मा नगरपालिकाले किनेको गाडीले नै काम चलिरहेको जनाउँदै नगरप्रमुख पोखरेलले नयाँ गाडी किन्न आवश्यक नरहेको बताउनुभएको थियो ।

आव २०७६÷७७ मा नगरप्रमुख चढ्ने छुट्टै सवारी साधन खरिदका लागि नगरपालिकाले फेरि रु ६० लाख बजेट विनियोजन गरेको थियो । नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैँले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गर्नुभएको थियो । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्युट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इञ्जीनियरिङ, जियोमेट्रिकक इञ्जीनियरिङ र इनफर्मेशन टेक्नोलोजीको पढाइ भइरहेको छ ।

साइकलप्रेमी नगरप्रमुख पोखरेल कार्यालयमा साइकल चढेर जाने गर्नुहुन्छ । उहाँले पारिश्रमिकको केही रकम नगरका सडकमा साइकल लेन बनाउन खर्च गर्ने घोषणा गर्नुभएको थियो तर गत वर्षदेखि कोरोना महामारी बढेपछि साइकल लेन परियोजना अधुरो छ ।

सम्बन्धित खवर