किरण न्यौपाने, रंगेली
मोरङको रंगेली नगरपालिकाले कोभिड १९ विरुद्धको खोप किन्ने निर्णय गरेको छ । आज नगर स्तरीय कोरोना व्यवस्थापन केन्द्रको बैठकले आफनो २० हजार जनताका लागि खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग स्वीकृती माग गरेको छ ।
रंगेली नगरपालिका मेयर दिलीप वगडीयाले यो महामारीमा जनताको उपचार र खोपको समस्यामा रहेकाले पहिलो चरणमा २० हजार नगरबासीलाई दुई चरणको खोपका लागि ४० हजार डोज खरिद गर्ने निर्णय गरि मन्त्रालयसंग अनुमती मागेको बताए । उनले भने– सडक बाटो र विकास पछि गरौँला तर अहिले जनतालाई कसरी बचाउने हो भन्ने सोच नगरले राखेको छ ।
मन्त्रालयले खोप किन्ने स्वीकृत दिएपछी त्यसको प्रक्रिया पुरा गरेर खोप खरिद गर्ने नगरपालिकाले योजना बनाएको प्रशासकिय प्रमुख टोम प्रसाद सुवेदीले जानकारी दिए । नगरपालिकाले १८ वर्ष माथिका नागरिकलाई मापदण्ड बनाएर खोप अभियान सञ्चालन गर्ने बुझिएको छ । नगरपालिकाले नगरबासीको उपचारका लागि रंगेली अस्पतालसंगको समन्वयमा यस अघि नै आफ्नो नागरिकलाई उपचारमा समस्या नहोस भनी अक्सीजन सहित २० बेडको कोभिड हस्पीटल र कोभिड ओपीडी सञ्चालन गरिरहेको छ ।
नगरवासीलाई निशुल्क उपचार र एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । भारतिय सिमासंग जोडिएको रंगेलीमा १ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ जनाले ज्यान गुमाई सकेका छन् ।