पथरी, मोरङको पथरी शनिश्चरेको नगर अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा सञ्चालित आइसोलेसन वार्डका लागि पथरी शनिश्चरे युएइ समाजले आज ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
समाजका मोहन गौतम, तीर्थ आचार्य सहितका समाजका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखाका प्रमुख (जनस्वास्थ्य निरीक्षक) मुरारी आचार्य सहितलाई हस्तान्तरण गर्नुभएको छ । सो समाजले ८६ हजार ८ सय रुपैयाँमा सिलिण्डर समेत खरिद गरी अक्सिजन भरेर उपलब्ध गराएको हो ।
यस अघि, आइसोलेसनका लागि पथरीशनिश्चरे १ को शिव वस्त्रालयका खगेन्द्र भट्टराईबाट २ वटा र युवा समाजसेवी भूपाल श्रेष्ठ सहित आवद्ध बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटबाट ३ वटा खाली सिलिण्डर उपलब्ध भएको छ । जिल्ला प्रशासन कार्यालयले ५ वटा सिलिण्डर उपलब्ध गराएको छ । १ नम्बर वडाको चापागाईं मेडिकल हलका हेमसागर चापागाईंबाट भरेको २ थान अक्सिजन सिलिण्डर खरिद गरेर प्रदान भएको छ ।
पथरीशनिश्चरे घर भएका अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्क सहितका १५ लाख बढी रुपैयाँका सामग्री प्रदान भएको छ । पथरी काठमाडौं मैत्री समाजको पहलमा सामग्री जुटाएर नगरलाई हस्तान्तरण गरिएको छ ।
हालसम्म, १८ वटा नर्मल अक्सिजन सिलिण्डर र ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन प्राप्त भएको अस्पतालले जनाएको छ ।
यस्तै, पथरी शनिश्चरेका १ का २ दाजुभाईले नगरका कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुर्याउन २० हजार रुपैयाँ प्रदान गरेका छन् ।
पथरी बजारस्थित मंगल ड्रेसेजका सञ्चालक मदन/मनोज अग्रवालले हिजो नगरपालिका कार्यालयमा उपस्थित भइ नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितलाई सो रकम हस्तान्तरण गरेका हुन् । नगर अस्पतालमा कोरोना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन वार्डमा आवश्यक स्वास्थ्य सामग्रीका लागि सो रकम प्रदान भएको दातामध्येका मनोज अग्रवालले बताए ।