संसद् विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

संसद् विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं : सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा गठन भएको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ सुरु भएको हो।

इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् । बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले संसद्‍ विघटनसम्बन्धी  १९ वटा  रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । इजलासमा रहेका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ।

संसद्‍ विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् । संसद् विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ । ती सबै ३० वटा मुद्दाको सुनुवाइ शुक्रबारदेखि संवैधानिक इजलासमा सुरु भएको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि पाँच गठबन्धनका १४६ जना सांसदले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति  र प्रतिनिधिसभा पुनर्स्थापना गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधी निर्वाचनको मिति तय गरेपछि संसद् विघटन असंवैधानिक भन्दै ३० वटा रिट सर्वोच्चमा दायर भएका हुन्।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद्‍ विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर सो कदमलाई  सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। सर्वोच्चको संवैधानिक इजलासमा करिब डेढ महिना बहस भएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

सम्बन्धित खवर