पथरी शनिश्चरेमा आइसोलेसन सुरु, सहयोगस्वरुप १५ लाख बढीको सामग्री

पथरी शनिश्चरेमा आइसोलेसन सुरु, सहयोगस्वरुप १५ लाख बढीको सामग्री

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरस संक्रमित विरामीको उपचारका लागि आजबाट अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालन भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर २ स्थित नगर अस्पतालमा तत्कालका लागि १५ शैय्या तयारी वार्डको उद्घाटन् गर्नुभयो । पथरी शनिश्चरे घर भएका अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा. भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्क सहितका १५ लाख बढी रुपैयाँका सामग्री सहयोग प्राप्त भएको छ । पथरी काठमाडौं मैत्री समाजको पहलमा सामग्री जुटाएर नगरलाई हस्तान्तरण गरिएको छ ।

आइसोलेसन् सेन्टरको उद्घाटनसंगै पथरी काठमाडौं मैत्री समाजका संस्थापक संयोजक टीकाराम गौतम, वर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कोइराला, सचिव अशोक खनाल सहितले नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित स्वास्थ्य कर्मचारीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सतर्कता अपनाएर नगर उप्रमुख वास्तोलाले आइसोलेसनको उद्घाटनपछि बोल्दै सवैको सहयोग र सहकार्यमा नगरवासीलाई कोरोना संक्रमणबाट मुक्त गर्न आफुहरु लागि परिरहेको जनाउँदै सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्नुभयो । आइसोलेसनमा आज वडा नम्बर २ का २ पुरुष र १ महिलालाई राखिएको छ ।


आइसोलेशनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि यस अघि गाउन, एन नाइन्टीफाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर तथा केही उपकरणका सामग्री उपलब्ध गराइएको छ ।

आइसोलेसनका लागि पथरी शनिश्चरे १ को शिव वस्त्रालयका खगेन्द्र भट्टराईबाट २ वटा र युवा समाजसेवी भूपाल श्रेष्ठ सहित आवद्ध बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटबाट ३ वटा खाली सिलिण्डर उपलब्ध भएको छ । जिल्ला प्रशासन कार्यालयले ५ वटा सिलिण्डर उपलब्ध गराएको छ । नगरमा रहेका अक्सिजनका सिलिण्डरलाई यो बेला कोरोना संक्रमितका लागि उपयोग गर्नका लागि उपलब्ध गराउन नगर उपप्रमुख वास्तोलाले आव्हान समेत गर्नुभएको छ ।

पथरी शनिश्चरेमा आजसम्ममा प्राप्त रिपोर्ट अनुसार ८० पुरुष र ८० महिला गरी १ सय ६० जना कोरोना संक्रमित भएमध्ये ५३ जना निको भएका छन् । वडा नम्बर १ मा ३९, २ मा २१, ३ मा ११, ४ मा २२, ५ मा ७, ६ मा १४, ७ मा १८, ८ मा ८, ९ मा ९ र १० मा ११ जना संक्रमित भएका छन् । आफ्नै घरको आइसोलेसनमा १ सय ४३ जना र अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या १ सय रहेको र ७ जनाको मृत्यु समेत भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । नगरमा जेठ २ गते रातिबाट औषधि पसल बाहेक सम्पूर्ण पसल र आवतजावत वन्द गरिएको छ । नगरमा जनप्रतिनिधि र कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

सम्बन्धित खवर