कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा (प्रतिबन्धात्मक व्यवस्था) उल्लङ्घन गर्ने व्यक्तिलाई अब एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने भएको छ। काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमै जरिवाना तोकिएको बताए ।
आदेश उल्लङ्घन गरेमा प्रमुख जिल्ला अधिकारीले व्यक्तिको हकमा एक लाख रुपैयाँसम्म र संस्थाको हकमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था अध्यादेशमा छ। यस अनुसार सोमवार हामी सूचना निकाल्दै छौँ। नागरिकहरूलाई सचेत गराइदिनु पर्यो। सूचना निकालेपछि लागु हुन्छ, पराजुलीले भने। काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा अझै कम्तीमा एक हप्ता थप गर्ने छलफल गर्न लागेको पनि उनले बताएका छन्।
कुन कुरा उल्लङ्घन गरे कति जरिवाना ?
बिनाअनुमति चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ। मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ, अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी भए दुई हजार र अन्य सवारी भए पाँच हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ ।