पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टर तयार भएको छ । हाल १५ बेडमा अक्सिजन सहितको तयारी गरिएको छ । आज सबै काम सम्पन्न भएकाले भोली (सोमबार) बाट संक्रमित राख्न सकिने नगर जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यले जानकारी दिनुभयो ।
हाल सम्म पथरी शनिश्चरे नगरपालिका भित्र दोस्रो भेरिएन्टको कोरोनाबाट ७६ जना पुरुष र ७६ जना महिला गरी १५२ जना सक्रमित भएका छन् । जसमध्ये नगरमा हालसम्म ७ जनाको मृत्यु समेत भइ सकेको छ । २९ जना डिस्चार्ज भएर घर फर्केको आचार्यले जानकारी दिनुभयो । यो विवरण सरकारी तवरबाट गराइएको विवरण मात्रै रहेको छ । आचार्यले भन्नुभयो यो सामाजिक विकास मन्त्रालयले पठाएको आधिकारिक विवरण हो यस बाहेक व्यक्तिगत रुपमा प्राइभेट अस्पतालमा गएर पनि परीक्षण गरेको हुनसक्छ त्यो विवरण प्राप्त भएको छैन् ।
हाल नगर बाहिरका विभिन्न अस्पतालहरुमा ५ जना संक्रमितले आइसोलेसन सुविधा लिइरहेका छन् भने अन्य संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । नगर प्रमुख दिलिप कुमार राईलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि हाल होम आइसोलेसनमा रहनुभएको छ ।