पथरी शनिश्चरेः कोरोना संक्रमित ९१ पुगे, आइसोलेसनका लागि टायल बिछ्याउँदै नगरपालिका

पथरी शनिश्चरेः कोरोना संक्रमित ९१ पुगे, आइसोलेसनका लागि टायल बिछ्याउँदै नगरपालिका

पथरी, मोरङको पथरी शनिश्चरेमा कोरोना संक्रमणको दर तीव्ररुपले बढिरहेको छ । पछिल्लो पटक ४० जनाको स्वाब संकलन गरी प्रदेश ल्याबमा पठाइएको रिपोर्टमा २९ जनामा कोरोना देखा परेको स्वास्थ्य शाखाले जनाएको छ । योसंगै हालसम्म संक्रमितको संख्या ९१ पुगेको छ भनें ६ जनाको निधन समेत भएको छ । हिजो २६ जनाको र आज ३९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका कोरोना भाइरस संक्रमितहरुका लागि आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । नगरमा ६ जनाको निधन भइसक्दा नगरपालिका टायल बिछ्याउन धमाधम लागि परेको छ । आइसोलेसनका रुपमा खडा गरिएको वडा नम्बर २ मा रहेको नगर अस्पतालको नवनिर्मित भवनमा टायल विछ्याउने र भवन अगाडि माटोपुर्ने काम भएको छ । आज नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य आइसोलेसन स्थल निर्माणमा खटेका थिए ।

यस सन्दर्भमा, नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले नगरवासीलाई घर घरमै सुरक्षित रुपमा बसेर मात्र कोरोना संक्रमणबाट बच्न सकिने उल्लेख गर्दै सवैलाई घरमै वस्न अनुरोध गर्नुभएको छ । निषेधाज्ञालाई वडा वडामा झनै कडाई गर्नु आवश्यक रहेको उहाँहरुले जनाउनु भयो । कोरोना संक्रमण बढेपछि नगरमा जेठ २ गते राती १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल, व्यवसाय र आवतजावत बन्द गर्ने निर्णय भएको छ ।

सम्बन्धित खवर