पथरी, मोरङको पथरी शनिश्चरे नगरमा बढेको कोरोना संक्रमणको अवस्थालाई ध्यान दिदै आइसोलेसन निर्माणको क्रम अघि बढेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले आज नगर अस्पतालमा वन्दै गरेको आइसोलेसनस्थलको निरीक्षण तथा अनुगमन गर्नुभयो ।
निर्माणाधिन भवनमा आइसोलेसनका लागि भूँइमा टाइल विछ्याउने काम अन्तिम चरणमा पुगेको र अव चाँडै आइसोलेसन सञ्चालनका लागि आवश्यकीय प्राविधिक सामग्रीको व्यवस्थापनका लागि मन्त्रालयमा समेत माग गरिएको उपप्रमुख वास्तोलाले जनाउनु भयो । त्यहाँ कम्तिमा १५ शैयाको आइसोलेनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक उपकरण व्यवस्थापनको माग गरिएको छ ।
यस नगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्ने सतर्कताका लागि जेठ २ गते राती १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल व्यवसाय वन्द गर्ने निर्णय भएको छ ।
वडाध्यक्षहरु समेत आमन्त्रित रहेको नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको जेठ १ गतेको बैठकले जेठ २ गते राती १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि नगरका औषधि पसल बाहेकका सम्पूर्ण प्रकारका पसल, व्यवसाय तथा आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले, निर्माणका क्रममा रहेको सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रिपर सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर विहान ६ देखि विहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाउने कुरा उल्लेख गरेको छ । साथै वन्दलाई कडाईका साथ कार्यान्वय गराउन वडाध्यक्षको अगुवाईमा वडा वडामा वडास्तरीय समन्वय समिति निर्माण गर्दै प्रहरी प्रशासनसँगको सहकार्यमा जनप्रतिनिधिहरु थप सक्रिय वन्ने समेत निर्णय भएको छ ।
तोकिएको यसखाले निर्णय पालना नगरे, नगराएमा तथा बस्तुहरुको कालोबजारी गरेमा कानून बमोजिम कारबाही समेत हुने निर्णय गरिएको छ । यसैबीच, आज नगरपालिका कार्यालयले एक सूचना प्रकाशित गरी नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले पुनः १ गते रातीबाट जेठ ११ गते राती १२ बजेसम्मका लागि थप कडाईका साथ निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
नगरमा पछिल्लो पटक स्वाब संकलन गरिएका ४८ जनामध्ये १६ जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि संक्रमितको संख्या ६२ पुगेको छ । नगरमा कोरोना संक्रमणबाट आज वडा नम्बर १ मा दम्पत्तीको निधन भएसँगै कुल ६ जनाको ज्यान गएको छ ।