अक्सिजन प्लान्ट स्थापना र पिसिआर मेसिन व्यवस्थापन गर्न कार्यदल गठन

अक्सिजन प्लान्ट स्थापना र पिसिआर मेसिन व्यवस्थापन गर्न कार्यदल गठन

खोटाङ, जिल्लामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद एवं व्यवस्थापनका लागि खोटाङमा कार्यदल गठन गरिएको छ । जिल्लामै अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन स्थापना गर्नका लागि आवश्यक बजेट तथा जनक्ति व्यवस्था गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा जिल्ला समन्वय समितिले तोकेको एक, जिल्ला प्रशासन कार्यालयले तोकेको एक र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य रहने कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लामै अक्सिजन उत्पादन गर्दैै अक्सिजनको अभाव पूर्ति गर्न अक्सिजन प्लान्ट तथा पिसिआर परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पिसिआर मेसिन खरिद तथा व्यवस्थापन गर्न कार्यदल गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको शुक्रबार साँझ बसेको बैठकले घरबाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्ने, त्यस्ता चाडबाडलाई औपचारिकताका लागि घरभित्र पनि सीमित सङ्ख्याको उपस्थितिमा मनाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सिसीएमसी÷डिसीसिएमसीले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्ने÷गराउने निर्णय गरिएको संयोजक चाम्लिङले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । बैठकमा सहभागीले जिल्लामा पछिल्लो समय नयाँ भेरियन्टसहितको सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले सबैले सजगता अपनाउनुपर्ने बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा वैशाखयता १५० जनामा नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने छ जना सङ्क्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभएको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको छ । नगरप्रमुख रिजालले प्रयोग गर्दै आएको बा२झ ३४६७ र उपप्रमुख राईले प्रयोग गर्दै आएको को१झ ६६८ नंको दुवै गाडी शनिबारदेखि एम्बुलेन्सका रूपमा सञ्चालन हुने गरी प्रयोगमा ल्याइएको हो ।

नगरपालिकामा भएको एउटा एम्बुलेन्सले मात्र सङ्क्रमितलाई जिल्लाबाहिर पठाउन तथा ल्याउन समस्या भएपछि आफू चढ्ने गाडी उक्त प्रयोजनका लागि दिएको नगरप्रमुख रिजालले बताउनुभयो । नगरप्रमुख रिजालका गाडीबाट शनिबार कोरोना सङ्क्रमित वडा नं १५ बिजयखर्कका कटवाल थरका २९ वर्षीय पुरुषलाई कोशी कोभिड अस्पताल विराटनगर पठाइएको छ ।

नगरपालिकाको एम्बुलेन्स शुक्रबार बिरामी लिएर काठमाडौँ गएको र शनिबार जिल्ला अस्पताल दिक्तेलमा उपचाररत एक सङ्क्रमित बिरामीको श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचारका लागि विराटनगर पठाएको जनाइएको छ । यसअघि हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले पनि आफू चढ्दै आएको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिनुभएको थियो । रासस

सम्बन्धित खवर