अन्नपूर्णमा आइसोलेशन सञ्चालन

अन्नपूर्णमा आइसोलेशन सञ्चालन

म्याग्दी, नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।

गत पुस महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलद्यिुत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए । आयोजना निर्माण सकिएपछि ति भवन प्रयोगविहिन बनेका थिए ।

सेनाको क्याम्प सरेपछि खाली भएका भवन मर्मत, रङ्गरोगन, खानेपानी, विद्युत जडान गरेर आइसोलेसन सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तत्काल मौजुदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर अस्पताल सुरु गरिसकेको र तलब व्यवस्थापन गरेर चिकित्सक ल्याउने र थप स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको बताउनुभयो । उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तलबको पचास प्रतिशत अतिरिक्त सुविधा गाउँपालिकाल दिने भएको छ । कामको चाप बढेपछि गाउँपालिकाले सञ्चालन गरेको प्रयोगशालाका कर्मचारीहरुको तलब बढाइएको छ । अन्नपूर्णको कोरोना अस्पतालमा १५ सिलिण्डर अक्सिजनको ब्यवस्था गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले छ स्वास्थ्यकर्मीको तीन वटा समूह बनाएर २४ सै घण्टा सेवा दिइएको बताउनुभयो ।

“बेनी अस्पतालका चिकित्सकको सम्पर्कमा रहेर दुई जनालाई अक्सिजन र एक जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” उहाँले भन्नुभयो “अन्नपूर्णमा करिब तीस जना सक्रीय संक्रमित छन् । सात जनाले कोरोना जितेका छन् ।” केहीदिन अघि कोरोना सङ्क्रमण निको भएका सिनियर अहेव विक्रम पुनको नेतृत्वमा आइसोलेसन र कोरोना अस्पताल सञ्चालन भएको छ ।

वडा न. ४ गाडपारमा शुक्रबार एकै परिवारका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । गत चैत तेस्रो हप्ता अन्नपूर्ण–४ नारच्याङमा जलविद्युत आयोजनाका ११ जना कर्मचारी र समुदायका चार जनामा कोरोना सङ्क्रमण भएको थियो । आठ वटै वडाका स्वास्थ्य चौकीमा पनि एक/एक वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको छ । सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइने अध्यक्ष पुनले बताउनुभयो । रासस

सम्बन्धित खवर