अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात जना पक्राउ

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात जना पक्राउ

काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।

काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८६५ थान अक्सोमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ । पछिल्लो समयमा अत्याश्यकवस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ ।

सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको छ भने अक्सिजन सिलिन्डर सङ्कलन अभियानसमेत जारी छ । अस्पतालले समेत चर्को शुल्क लिने गरेको गुनासो आएकाले अनुगमन भइरहेको प्रशासनले जनाएको छ ।

सम्बन्धित खवर