पथरी, मोरङको पथरी शनिश्चरे नगरमा अक्सिजन सहितको कोरोना सहायता कक्ष ( हेल्प डेस्क) खडा गरिएको छ ।
राष्ट्रिय युवा संघको नगर कमिटीले १० सिलिण्डर अक्सिजन ग्यास, सेनिटाइजर, मास्क, खानेपानी सहितका सामग्री व्यवस्थापन गरी कोरोना सहायता कक्ष सञ्चालनका लागि वडा नम्बर १ मा रहेको पथरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपमहासचिव विजय डाँगी, केन्द्रीय सचिवालय सदस्य नविन पौडेल र पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कोरोनाको संक्रमणको यस अवस्थामा यसखाले काम ज्यादै सह्रानीय भएको बताउनु भयो । अन्य विकासलाई थाँती राखेर निस्वार्थ रुपमा मानिस बचाउँने अभियानमा लाग्नु पर्ने उहाँहरुको धारणा थियो । कसैले घरमा लगेर त्यत्तिकै अक्सिजन राख्नु भन्दा अस्पतालमा अक्सिजन जम्मा पार्न सकेमा संक्रमितको ज्यान बचाउन सकिने भएकाले अक्सिजन ओगट्ने र कृत्रिम अभाव सिर्जना गर्ने कार्य रोक्न सवैले खबरदारी गर्नुपर्ने पनि उहाँहरुले बताउनु भयो । संघले पथरी अस्पतालका इश्वरी सापकोटा सहितलाई सामग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिका कार्यालयले भने हालसम्म आइसोलेसन तयार गर्न सकेको छैन् । अनेक बहानामा अल्झिएको नगरपालिका १५ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय मात्रै गरेको छ । नगरमा दिनानुदिन कोरोना संक्रमित बढिरहेको अवस्थामा कतैपनि आइसोलेसनहरु खाली नभएका समाचारहरु आइरहेका छन् । नगरले तत्काल आइसोलेसन तयार गरेर आफ्ना नगरका नागरिकको पहिलो चरणको उपचार आफ्नै नगरमा गर्नुपर्छ । नगरले कोभिड प्रमाणित भएका बिरामीका लागि २ वटा एम्बुलेन्स निःशूल्क उपलब्ध गराउने बताएको छ । नगरका २ जना बिरामी बिराटनगरमा आइसोलेसन बेड खोजिरहेका छन् तर नगरपालिको आइसोलेसन सञ्चालन गर्न अझै ४ दिन लाग्ने स्वास्थ्य संयोजक मुरारी आचार्यको भनाइ छ । काम धमाधम भइरहेको आचार्यले बताए पनि ४ दिन अगावै कोही सिकिस्त भए कि बिराटनगर कि त धरानमा आइसोलेसन खोज्दै भौतारिनुको अर्को बिकल्प छैन् ।