पथरी बजार अनुगमन, म्याद गुज्रिएका सामान बेच्नेको सामान जफत

पथरी बजार अनुगमन, म्याद गुज्रिएका सामान बेच्नेको सामान जफत

पथरी, मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसबाट सजक बन्न जानकारी गराउँदै आज पथरी बजार अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतका साथै इलाका प्रहरी कार्यालय र नगर प्रहरीका सुरक्षाकर्मी सहितको टोलीले अनुगमन् गरेको हो ।

पथरी बजार र बुद्धचोकसम्म विशेषगरी किराना सामग्रीका होलसेल पसल सहितका ७ वटा पसलको अनुगमन् गरिएको छ । ती कुनै पनि पसलमा मूल्य सूची टाँस नभएको, केहीमा म्याद गुज्रिएका सामान समेत रहेको पाइएकाले मूल्य सूची टाँस्न र म्याद गुज्रिएका सामग्री आइन्दा नराख्न सचेत गराइएको छ ।

जफत गरिएका म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ । दर्ता नभएको एउटा किराना र एउटा आइसक्रिम फ्याक्ट्रीलाई तत्काल सम्बन्धित निकाय सहित नगरपालिकामा दर्ता हुन सचेत गराइएको टोली संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । उहाँले कोरोना संक्रमणको समयमा वस्तुको कालोबजारी हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न र कोरोना सजकता समेत बढाउन आवश्यक रहेकाले अनुगमन् अघि बढाइएको बताउनु भयो ।

टोलीले कोरोनाबाट बच्नका लागि पसल व्यवसाय तथा कार्यालयमा सेवाग्राहीका लागि अनिवार्य रुपमा तोकिएको भौतिक दूरी कायम गराएर मास्क लगाउने, साबुन पानीले हात धुने वा सेनिटाइजरको व्यवस्थापन गराउन पनि जानकारी गराएको छ । साथै साँझ ७ बजेसम्म पसल र साँझ ८ बजेसम्म मात्र होटल व्यवसाय सञ्चालन गर्न सचेत सूचित गरिएको छ ।

ग्यास पसल तथा अस्पतालहरुमा विरामीका लागि आवश्यक अक्सिजनको अवस्था समेत जानकारी लिइएको छ ।

सम्बन्धित खवर