माछा मार्न पथरी आएका लेटाङका युवाको शव जङ्गलमा भेटियो

माछा मार्न पथरी आएका लेटाङका युवाको शव जङ्गलमा भेटियो

लेटाङ, मोरङको लेटाङ नगरपालिका–५ का २७ वर्षीय उगेन मगर बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्नका लागि भनेर निस्किए ।

परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार उनी पथरी शनिश्चरेमा रहेको एउटा पोखरीमा माछा मार्नका लागि भनेर घरबाट हिँडेका हुन् । तर उनी राति अवेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दाले खोजी गर्न थाले ।

खोजी गर्दै जाँदा अघिल्लो दिन घरबाट हिँडेका मगर भने भोलिपल्ट बिहीबार (आज) बिहान मृत फेला परेका छन् । जङ्गलमा शव भेटिएको जानकारी प्रहरीले बिहान ९ बजेतिर प्राप्त गर्यो । माछा मार्न पथरी शनिश्चरे हिँडेका उनको शव लेटाङकै एउटा जङ्गलमा भेटिएपछि प्रहरीले गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थाल्दै शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृत्युलाई शङ्कास्पद मानेर घटनाको अनुसन्धान अघि बढाइएको छ ।

लेटाङकै त्रिवेणी सामुदायिक वनभित्र मगरको शव फेला परेको जानकारी राईले दिए । घटना कसरी भएको हो भन्ने यकिन हुन नसकिरहेको उनको भनाइ छ । मगरको हत्या भएको हुनसक्ने आशङ्का पनि गरिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृत रुपमा अनुसन्धान गरिएपछि मगरको हत्या भएको हो या हैन भन्ने बारेमा प्रष्ट हुने डीएसपी राईले जानकारी दिए ।

सम्बन्धित खवर