एक महिना देखि पथरी शनिश्चरे प्रमुख प्रशासकीय अधिकृत बिहिन, आर्थिक गतिविधि ठप्प

एक महिना देखि पथरी शनिश्चरे प्रमुख प्रशासकीय अधिकृत बिहिन, आर्थिक गतिविधि ठप्प

भिमराज अधिकारी, पथरी

एक महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुदा मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक गतिविधि ठप्प भएको छ ।

गत चैत्र १९ गते तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमलाले कार्यालय छाडेदेखि कुनैपनि आर्थिक गतिबिधि नभएको नगरपालिकाका लेखा अधिकृत शान्त बहादुर थापाले जानकारी दिनुभयो । नगरको कुनैपनि आर्थिक काम गर्न नसकेपछि नगरका कर्मचारी तथा विद्यालयका शिक्षकहरुले तलब समेत पाएका छैनन् । आन्तरिक रुपमा तयार गर्नुपर्ने कागजात मिलाउनु बाहेक अरु काम भएको छैन् अधिकृत थापाले भन्नुभयो अब प्रशासकीय अधिकृत आएपछि मात्रै आर्थिक कारोबारको काम हुन्छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धमला सहित ६ जनालाई पथरी शनिश्चरे क्षेत्रमा पोखरी निर्माण गर्ने काममा अनियमितता गरेको भन्ने आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि धमला निलम्बित भएका हुन् । त्यसयता नगरमा आर्थिक काम बाहेकका अन्य काम गर्नका लागि शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गरिरहनुभएको छ । आर्थिक काम बाहेकको योजना सम्झौता गर्ने, सिफारिस गर्ने लगायतका कामहरु भने चालु रहेको योजना शाखाले जनाएको छ ।

आर्थिक वर्षको अन्त्यतर्फ आइपुगेको समयमा झन वढि भुक्तानीका कामहरु हुने गर्दछन् तर यहि समयमा प्रशासकीय अधिकृत नहुदा सञ्चालनमा रहेका योजनाहरुको काम पनि सुस्त गतिमा भइरहेको वडा नं. ८ का अध्यक्ष बाबुराम दाहालले बताउनुभयो । दाहालले भन्नुभयो ‘अधिकृत नहुँदा कार्यालय सञ्चालन गर्न समेत समस्या छ आफ्नै गोजीबाट खर्च हालेर भएपनि कार्यालय चलाउनुपर्ने अवस्था छ । वडाको बजेट हाराहारी ८५ लाख जतिको थियो तर अहिलेसम्म करिब १५ लाख जति मात्रै भुक्तानी भएको छ । योजना, कार्यालय सबै प्रभावित भयो अधिकृत कहिले आउने टुङ्गो छैन् ।’

यता नगर प्रमुख दिलिप कुमार राईले भने प्रमुख प्रशासकीय अधिकृत आउने तयारीमा रहेको बताउनुभएको छ । अधिकृत पठाउनका लागि मन्त्रालयले सबै कागजात तयार गरिसकेको तर कोरोनाको प्रभाव भएका कारण मन्त्रालयका सचिव नै उपस्थित हुन नसक्ने अवस्था भएपछि रोकिएको राईले बताउनुभयो । ‘हालसम्म को आउने भन्ने यकिन नभएपनि कागजात सबै तयारी पुरा भएको छ, राइले भन्नुभयो– मन्त्रालयमा सचिव आउनासाथ प्रशासकीय अधिकृत आउनुहुन्छ ।’

चार महिना देखि तलब नपाउदा शिक्षकहरु मारमा

सामुदायिक विद्यालयका शिक्षकहरुले विगत चार महिना देखि तलब पाएका छैनन् । तलब नपाउदा घरव्यवहार चलाउन मुस्किल परेको भन्दै सामाजिक सञ्जालमा समेत गुनासो गरेको देख्न पाइन्छ । चैत्र महिनामा शिक्षकहरुले तेस्रो त्रैमाषिक तलब बुझ्नुपर्ने हो तर विगत चार महिना देखि तलब नपाएको जालपा सिंहदेवी आधारभूत विद्यालय शिक्षक हरि प्रसाद ढकालले बताउनुभयो । एउटै मात्रै आम्दानीको स्रोत चार महिना देखि तलब नपाउदा घरव्यवहार चलाउन समेत मुस्किल परेको ढकालले बताउनुभयो ।

घरको व्यवहार त छदैँ छ बैंकको ऋणले ढाड सेकिसक्यो तर अझै तलब आउने छाँटकाँट नभएको बुद्ध मा.वि.का लेखापाल सुवास गौतमले बताउनुभयो । स्थानीय सरकारले बेवास्ता गरेको कारण अधिकृत समयमा नगरमा नआएकाले सबै शिक्षकहरु आर्थिक चपेटामा परेको गौतमको भनाइ छ ।

शिक्षकहरुले मात्रै हैन नगरका कर्मचारीहरुले पनि चैत्र महिनाको पनि तलब पाएका छैनन् । बैशाक महिनाको तलब बुझ्ने बेलासम्म पनि नगर र नगर मातहत रहेका कर्मचारीहरुले तलब नपाउदा आर्थिक मारमा परेको कर्मचारीहरुले बताउदै आएका छन् ।

कोलोनिकाले नै शिक्षकहरुको तलब पठाएन

कोष तथा लेखा नियन्त्रणको कार्यालयले नै रकम नपठाएका कारण पनि शिक्षकहरुको तलब रोकिएको नगरका लेखा अधिकृत थापाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत भएको भएता पनि हालसम्म कोलोनिकाले शिक्षकहरुको तलब रकम नपठाएका कारण तलब खुवाउन सक्ने आवस्था नहुने थापाको भनाइ छ । थापाले भन्नुभयो एसएसडिपी शीर्षकबाट वैदेशिक स्रोत मार्फत शिक्षकहरुलाई तलब खुवाउने गरिएको छ तर कोलोनिकाले अहिलेसम्म पनि वैदेशिक स्रोतको रकम नआएको भन्दै तलब रकम नै पठाएको छैन् तर आफुलाई आएको जानकारी अनुसार केही दिनमा कोलोनिकाले वैदेशिक स्रोतको रकम आउने सम्भावना रहेको बताएको छ ।

तत्काल नगरले आफ्नो आन्तरिक रकमबाट तलब खुवाउन सक्ने अवस्था पनि नरहेको थापाले बताउनुभयो । करिब ४ करोड हाराहारीमा हुने तलब रकम स्थानीय तहले तत्काल व्यवस्थापन गर्न सक्ने अवस्था छैन् थापाले भन्नुभयो प्रशासकीय अधिकृत भएको भए यो विषयमा पनि केही छलफल हुन सक्थ्यो तर अहिले दोहोरो मार परेको छ ।

स्थानीय सरकारको कार्य सम्पादन गर्ने विषय चानचुने हैन् । एक महिनासम्म नगरको आर्थिक कारोबार ठप्प हुँदा हरेक क्षेत्र प्रभावित बनेको छ । कोरोनाको दोस्रो लहरले छोपिसकेको अवस्था छ । नगरले अहिलेसम्म पनि तयारी समेत थालेको छैन् । खर्च गर्नका लागि कि गोजीबाट लगानी गर्नुपर्यो कि अधिकृत छैनन् भन्दै बस्नुपर्ने अवस्था छ ।

सम्बन्धित खवर