उर्लाबारी, मोटरसाईकलमा सवार मंगलबारेका युवा व्यावसायी सुरज ठाकुरलाई ठक्कर दिई भागेको टाटाको योद्धा पिकअप भ्यान पथरीबाट प्रकाउ परेको छ ।
नेपालमा भर्खरै मात्र भित्रीएको टाटाको नयाँ मोडल योद्धाले आईतबार साँझ करिव ७ बजेको समयमा सुरजलाई ठक्कर दिएर फरार भएको थियो । साँझको बेला दुर्घटना भएकोले ठाँउठाँउमा लगाईएका सिसी क्यामेरा फुटेजमा सजिलैसंग ट्रयाक गर्न सकिएको थिएन ।
उर्लाबारी प्रहरी निरिक्षक राजाराम खड्का नेतृत्वको प्रहरी अनुसन्धान टोलीले घटनालाई तत्काल छानविन गरि निरन्तर अनुसन्धान गरिरहेकाे थियाे । फरार भएको ३६ घण्टा पछि मंगलबार बिहान पिकप पक्राउ गर्न सफल भएकाे हो । भर्खरै सोरुमबाट निकालिएको पिकअप भएका कारण गाडी नम्बर भने अहिले पहिचान भइसकेको छैन् । पक्राउ गरेको भ्यानको नम्बर पहिचान गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनाको एकदमै जोखिम ठाउँ मानिएको बक्राह पुलमा तत्काल नाईट भिजनेरी सहितको सिसी क्यामेरा आवश्यक रहेकाले यसलाई केहि दिनमै जडान गरिने उर्लाबारी नगर प्रमुख खड्ग फागोले बताएका छन् ।