काठमाडौं, १२ वैशाख । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६९ लाख ६० हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७६१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९२ हजार ३१० जना भन्दा बढी भइसकेको छ ।
भारतमा हालसम्म १४ लाख ७८ हजार भन्दा बढी संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टाको विवरण अनुसार २६ लाख ८१ हजार ३७८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
अघिल्लो दिन भारतमा ३ लाख ४५ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि हुँदा २ हजार ६०० भन्दा बढीले ज्यान गुमाएका थिए । अत्याधिक संक्रमितसँगै अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभावको अवस्था सृजना भएको छ ।
अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै अन्तिम संस्कारका लागि पनि लामो समय पालो पर्खनु पर्ने अवस्था छ ।