मृत्यु भई सकेका व्यक्तीको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

मृत्यु भई सकेका व्यक्तीको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

झापा, मृत्यु भइसकेका व्याक्तिको नाममा रहेको जग्गा नक्कली नागरिक्ता बनाइ ठगी गर्ने गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

झापा बिर्तामोडका स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरि आज सार्बजनिक गरेको हो । पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिवसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् भने यसै गरी झापा अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ बर्षीय गोविन्द वान्तावा, बिर्तामोड १० का ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

यो समुहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व–पश्चिम राजमार्गमा जोडिएको स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यो समुहले उक्त जग्गा ठगी गर्नको लागि पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको पाइएको छ । उक्त वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको पाइएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेपछि १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा प्रहरीको टोली खटेको थियो । प्रहरी टोलीले घटनामा संलग्न रहेका मध्ये यि १० जनालाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएको हो ।

यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेका उनिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर