शोभायात्रा माडीका लागि प्रस्थान

शोभायात्रा माडीका लागि प्रस्थान

रासस / प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनुभएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ । मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान ८ः३० बजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्ति वाचनसहित शोभायात्रालाई बिदाइ गरिएको हो ।

आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो । स्थानीयवासीले कलशयात्रासहित शोभायात्रालाई बिदाइ गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु मङ्गलबार ल्याइएको हो । यसरी ल्याइएका मूर्तिहरु अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज दिनको १२ बजे राख्ने कार्यक्रम छ । सो कार्यक्रममा मन्त्री ढकाल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका उच्च अधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ ।

गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो । मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याइएको हो । उक्त शोभायात्रा दासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, हाकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने छ ।

राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्छ ः मन्त्री ढकाल

दमौली- चितवनको अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसहितको रथयात्रा आज बिहान तनहुँको देवघाटबाट चितवन प्रस्थान गरेको छ । रथयात्रालाई आज बिहान गलेश्वर आश्रम र सिद्धेश्वर आश्रमबाट कलशयात्रासहित बिदाइ गरिएको हो ।

रथयात्रालाई देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक सङ्घसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूहलगायतले बिदाइ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पूजाआजा गरी पठाउनुभएको रथयात्रा हिजो साँझ नै देवघाट आइपुगेको थियो ।

रथयात्रा बिदाइ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायत सहभागी हुनुभएको छ । उक्त मूर्ति माडीको अयोध्यापुरीमा लगिनेछ ।

मन्त्री ढकालले भगवान् रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको र त्यसको पुष्टि क्रमशः हुँदै गएको बताउनुभयो । “हामीसँग रामको जन्मको पुष्टि हुने धेरै आधार छन् । सीता गुफा देवघाटमा भएको र राम नुहाउन देवघाटमा आउने गरेको तथ्य पनि छ”, मन्त्री ढकालले भन्नुभयो । उहाँले अयोध्यापुरीको विकासका लागि आवश्यक बजेट सरकारले विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । राज्यको आफ्नो धर्म नहुने तर राज्यका नागरिकले आफ्नो इच्छाअनुसारको धर्म मान्न पाउने स्वतन्त्रता भएकाले राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्ने मन्त्री ढकालको भनाइ थियो ।

सांसद कृष्णकुमार श्रेष्ठले माडीमा भगवान् रामको जन्म भएको यो कार्यक्रमले पुष्टि गरेको भन्दै प्रधानमन्त्री ओलीको अभियानले सार्थकता पाएको बताउनुभयो ।

सम्बन्धित खवर