रतुवामाईलाई ट्राइबेकरमा ५-३ गोलले पराजित गर्दै उर्लाबारीको विजयी सुरुवात

रतुवामाईलाई ट्राइबेकरमा ५-३ गोलले पराजित गर्दै उर्लाबारीको विजयी सुरुवात

विराटनगर । मोरङको सुन्दरहरैंचामा जारी प्रथम मेयरकप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएकोे खेलमा उर्लाबारी नगरपालिकाले विजयी सुरुवात गरेको छ । मोरङको सुन्दरहरैंचास्थित शुक्रबारे खेल मैदानमा मंगलबार भएको खेलमा मोरङकै रतुवामाई नगरपालिकालाई ट्राइबेकरमा ५ ३ ले पराजित गर्दै उर्लाबारीले विजयी सुरुवात गरेको हो ।

निर्धारित समयअवधी भर उर्लाबारीले रतुवामाईलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा खेल ट्राइबेकरमा पुगेको हो । निर्धारीत समयको खेलमा उर्लाबारीले राम्रो प्रहार गरेपनि रतुवामाईका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।

ट्राइबेकरमा उर्लाबारीको तर्फबाट टिम क्याप्टेन भूषण लिम्बू, सनम भुजेल, रुद्र कार्की, एकराज बुढाथोकी र गोलकिपर सुमन लिम्बूले गोल गरे । यता रतुवामाईको तर्फबाट विपन लिम्बू, चन्दन खवास र सरोज मगरले मात्र गोल गरे । मंगलबारको खेलमा उर्लाबारीका गोलकिपर सुमन लिम्बू म्यान अफदि म्याच घोषित भए ।

प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो । प्रतियोगिता अन्तरगत बुधबारको खेल आयोजक टिम सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिकाविच हुनेछ । सोमबार भएको उद्घाटन खेलमा बेलबारी नगरपालिकालाई पराजित गर्दै लेटाङ नगरपालिका सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

सम्बन्धित खवर