आरडिटी पोजेटिभ देखिएका विरामीको विराटनगरका अस्पताल चहार्दा चहार्दै मृत्यु

आरडिटी पोजेटिभ देखिएका विरामीको विराटनगरका अस्पताल चहार्दा चहार्दै मृत्यु

आरडिटी पोजेटिभ देखिएका उदयपुरका एक विरामीले सोमबार उपचार नपाएर ज्यान गुमाएका छन् । कोरोना भाईरस परीक्षणका लागि आरडिटी टेष्टगर्दा पोजेटिभ देखिएपछि विराटनगरका आधा दर्जन अस्पतालले भर्ना नलिदा उनको ज्यान गएको हो ।

आईतबार अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर रेफर गरिएका त्रियुगा नगरपालिका ५ का ३५ बर्षिय महिलाको उपचार नपाएरै ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्याइएको नाम नबताउने शर्तमा आफन्तले बताएका छन् । ‘विरामी लैजानसाथ आरडिटी परीक्षण गरियो तत्काल पोजेटिभ देखियो, उनले भने, ‘विरामीको अवश्था गम्भिर छ, मेडिकल कलेज लैजानुस भन्नु भयो चिकित्सकले ।

चिकित्सको सुझाबअनुसार विराट मेडिकल कलेज पुर्याएको तर त्यहाँ पनि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइदिएको उनले बताए । एकले अर्कोलाई मौखिक रेफर गर्न थालेपछि लगेको एम्बुलेन्समा अक्सिजन सकिएको र अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराटनर्सिङ्ग होम, नोवेल अस्पताल हुँदै कोसी अञ्चल अस्पताल पुर्याए पनि कसैले भर्ना नलिएको उनले बताए ।

कोसी अञ्चल अस्पतालमा आईसोलेसनमा भर्ना गरेको तर चिकित्सकले उपचारमा आनाकानी गरेपछि विरामीको बिहान मृत्यु भएको उनले बताए । उपचार नै नपाई विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित बनेका छन् । अस्पतालका प्रमुख डा. चुमनलाल दासले पिसीआर परीक्षण गर्न नै नपाई विरामीको मृत्यु भएकाले कोरोना हो भन्ने एकिन नभएको बताए । उनले विरामीको अवश्था आउँदै नाजुक भएकाले वचाउन गार्हो भएको बताए ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले घटनाको बारे अहिलेसम्म केही जानकारी नभएकाले कोरोनाबाट मृत्यु वारे पुष्टि गरेनन् । उनले भने, ‘अहिलेसम्म कसैले खवर गरेको छैन्, यदि कोरोना हो भने शव व्यवस्थापनको पाटो हामीबाटै हुन्छ ।

सम्बन्धित खवर