भीमराज अधिकारी, पथरी
गत बिहिबार परेको असिना पानीले अहिले धेरैलाई बिचल्ली बनाएको छ । मोरङ पथरी शनिश्चरे ६ का मण्डल दाजुभाइले डेढ बिगाहा जग्गामा लगाएको सब्जी खेती अहिले सबै माटोमा मिलेको छ ।
उदय चन्द्रवंशी ३ वर्ष ६ महिना कतार बसे । कतारबाट फर्केर आएपछि बहराइन ४ वर्ष बसे । साँढे सातवर्ष बिदेश बसेर नेपाल फर्केका चन्द्रवंशीले आफ्नै ठाउमा सब्जी खेती गर्ने योजना बनाए र २ लाख लगानी गरेर गत मंसिरबाट सब्जीखेती सुरु गरेका थिए । बारीमा खुर्सानी, बैगुन, टमाटर, मिटरबोडी, सिमि, करेला, बन्दा लगायतको सब्जी थियो । असिना पानीले सबै खेती माटोमा मिलेपछि उदयको मन अमिलो भएको छ । गाउँमा केही गर्न सकिन्छ भनेर लागेका उनलाई पहिलो वर्षमा नै मौषमले धोका दियो । एक छिमल पनि टिप्न नपाइ सबै सब्जीमा माटोमा मिल्यो उदयले भने मन भारी भएको छ । खर्च कटाएर ३ लाख माथी आम्दानी गर्ने योजना थियो, सबै खतम भयो ।
उदयसंगै विकास र प्रदिप चन्द्रवंशीले पनि सब्जी खेती गरिरहेका थिए । काका बढाउका छोराहरु हुन् उदय, विकास र प्रदिप । विकास १५ महिना दुवइ बसे तर कोरोना कहरका कारण काम चल्न छाडेपछि घर फर्किएका हुन् । विदेशको कमाइ यहि गर्न सकिन्छ भनेर सब्जी खेती थालेका विकासलाई पनि पहिलो पटक नै दाँतमा ढुङ्गा लागे सरह भएको छ ।
२ लाख सम्म आम्दानी हुन्छ भन्ने आस गरेको तर पहिलो चोटी नै असिनाले बर्बाद बनायो विकासले भने अझै सेती बिस्तार गर्ने योजनामा थियौँ तर अब सबै घाटा लाग्यो के गर्ने अलमलमा छौँ ।
३ दाजुभाइ मध्ये प्रदिपले पनि १ लाख ५० हजार लगानी गरेर सब्जी खेती गरिरहेका थिए । टमाटर, खुर्सानी, बैगुन, घिरौँला, सिमि, करेला लगायतका सब्जीहरु प्रदिपको बारीमा थियो । ७ वर्ष मलेसिया बसेर फर्केका प्रदिपले पनि बिदेश छाडेर स्वदेशमै केही गर्छु भनेर सब्जी खेती थालेका थिए । पहिलो चोटी लगाएको लगानी एकचोटी पनि टिप्न नपाइ असिनाले सबै सखाप बनायो प्रदिपले भने अब यो सबै काम नलाग्ने भएको छ, यस्लाई खनजोत गरेर नयाँ रोप्नुपर्ने भयो ।
३ दाजुभाइले वडा नं. ५ को कोठेबारी क्षेत्रमा डेढ बिगाहा जग्गा लिएर खेती गरिरहेका थिए । पिडितहरुको सब्जी वडाका जनप्रतिनिधि र नगरको कृषि शाखाले पनि अनुगमन गरेको छ । वडामा प्रयाप्त बजेट नभएकाले आवश्यक सिफारिस गर्ने वडाध्यक्ष जोग बहादुर धिमालले बताउनुभयो । यता कृषि शाखाले पनि प्रदेश सरकारमा भएपनि सिफासि गरेर राहतका लागि पहल गर्ने आश्वास दिएको पिडित उदय चन्द्रवंशीले बताएका छन् ।