सडक निर्माणको माग गर्दै सडकमै पत्रकार सम्मेलन

सडक निर्माणको माग गर्दै सडकमै पत्रकार सम्मेलन

पथरी, मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडकको निर्माण कार्य अलपत्र भएपछि स्थानीयबासीले सडकमै पत्रकार सम्मेलन गरेका छन् ।
हिउँदमा धुलाम्मे र बर्षायाममा पानी भरिएका खाल्डाखुल्डीका कारण आवातजावातमा समस्या उत्पन्न भएपछि स्थानीयबासीहरुले सडक अवरुद्ध गरेरै आन्दोलन थालेका हुन् ।

उर्लाबारी–मधुमल्ला सडक खण्डको उर्लाबारी ५ र ६ को डिबी मार्ग, अबिरल चौक र मधुमल्लामा सडक अवरुद्ध गरिएको छ । सडक कालोपत्रेको माग राख्दै आइतबार उर्लाबारी ५ र ६ मा पर्ने डिबी मार्गमा पत्रकार सम्मेलन गर्दै उर्लाबारी–मधुमल्ला सडक खण्ड मर्मत संघर्ष समितिले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

समितिका संयोजक भक्तिप्रसाद पोखरेलले सडक कालोपत्रेको ठेक्का पाएको ठेकेदार कम्पनी बेपत्ता भएर सडकको निर्माण कार्य अधुरै छोडेपछि स्थानीयले सास्ती खेप्नु परेको बताए ।

गुणस्तर अनुसारको काम नगरेकाले स्थानीयहरुले पटक पटक बिभिन्न चरणमा काम गर्न दबाब दिएको समितिका सह–संयोजक प्रभू राई बताए । सडक कालोपत्रे निर्माण कार्य सुरु भएको ९ वर्ष भइसक्दा पनि कार्य नभएका कारण आफूहरुको धैर्यको बाँध टुटेको सचिब गजेन्द्र दंगालले बताए ।

त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली र ६ नम्बरका वडाध्यक्ष चिन्तामणि पौडेलले सडक निर्माण कार्य पूरा नभएकाले जनताले ठूलो सास्ती खेप्नु परेको भन्दै तत्काल निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।

२०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय, विराटनगरले ठेक्का लगाएको उक्त सडक अहिले प्रदेश सरकारको मातहतमा छ ।

पटकपटक पत्र काटेर निर्माण सुचारु गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै सडक बेहाल बनेको छ ।

सम्बन्धित खवर