मोरङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संसद् छलेरै अधिवेशन टुंग्याएका छन् ।
राईले आफूविरुद्धको अविश्वास प्रस्ताव रोक्न सुरुबाटै प्रदेशसभाको बैठक छल्दै आएका थिए । अधिवेशनका आठ वटा बैठकमध्ये आजको अन्तिम बैठकमा सहभागी हुन आएका मुख्यमन्त्रीले विपक्षी अवरोधमै संसद् अन्त्य गरेका हुन् ।
सरकार आफैंले अवरोध र बहिष्कार गर्दै सुरु भएको प्रदेश १ संसद्को हिउँदे अधिवेशन एउटा पनि विधेयकमा छलफलै नगरी आजबाट अन्त्य भएको हो । अधिवेशनको प्रारम्भबाटै प्रदेशसभा बैठक छल्न हरसम्भव प्रयास गरेका मुख्यमन्त्री शेरधन राई यसपटक प्रदेशसभाको अन्तिम बैठकमा मात्रै सहभागी भए । संसद् छलेर बसेका उनले अन्ततः अधिवेशन अन्त्य गर्ने निर्णय लिएका हुन् ।
उनको निर्णयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरेको पत्र संसद्मा पठाएर औपचारिकता पूरा गरेका छन् ।