भारतमा एकै दिन २ लाख ६० हजार संक्रमित, झण्डै १५ सयको मृत्यु

भारतमा एकै दिन २ लाख ६० हजार संक्रमित, झण्डै १५ सयको मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा दिनानुदिन कोरोनाभाइरस संक्रमणको गति तीब्र बन्दै गएको छ । पछिल्लो २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिएका छन्।

कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ। पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा आज २ लाख ६० हजार ७७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शनिबारको तुलनामा ११ प्रतिशतले बढी हो ।

कोरोना संक्रमितहरुको यो बृद्धिसंगै भारतमा कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या १८ लाख १ सय १९ पुगेको छ।

त्यसैगरी मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बृद्धि भैरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्।

गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७७ हजार १६८ पुगेको छ। अझै ८ हजार ९४४ जना संक्रमितहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ संक्रमित थपिएका छन्। त्यस्तै, दिल्लीमा १९ हजार ४८६, कर्नाटकमा १७ हजार ४८९, छत्तिसगढमा १६ हजार र केरलामा १३ हजार संक्रमित थपिएका छन्।

नेपालसँग सीमा जोडिएको बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन्।

सम्बन्धित खवर