विराट गोल्डकप : उद्घाटन खेलमा घरेलु टिम विराटनगर विजयी

विराट गोल्डकप : उद्घाटन खेलमा घरेलु टिम विराटनगर विजयी

विराटनगर : छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर ११ ले युनाइटेड फुटबल क्लब सिक्किमलाई पराजित गरेको छ ।

विराटनगरले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ८ औँ मिनेटमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेल सुरू भएको ८ मिनेटमै गोल खाएपछि दबावमा परेको पाहुना टोली सिक्किमले खेलको १५ औँ मिनेटमा गोल गरि खेल बराबरीमा ल्याएको थियो । सिक्किमका लागि आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदुपयोग गर्दै साङ्गे छोपेन भुटियाले सानदार गोल गरे ।

पहिलो हाफसम्म १/१ गोलको बराबारी सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले दोस्रो व्यक्तिगत गोल गर्दै टिमलाई जित दिलाए । खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

सम्बन्धित खवर