- प्रबेश बिष्ट
इटहरा : मोरङको रतुवामाई नगरपालिकामा १३ औँ संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय रतुवामाई -६ कादुपाडाको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । आज ९आइतबार० बाट सुरु भएको कार्यक्रमको समापन चैत २४ गते हुने छ ।
प्रतियोगिताको रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन पछि बोल्दै नगर प्रमुख राईले चौतर्फी विकासका लागि खेल अपरिहार्य भएको र यसको विकासका लागि प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । रतुवामाई नगरपालिकामा खेल क्षेत्रको विकास गर्नका लागि यस्ता प्रतियोगिता मार्फत खेलाडी पहिचान र पहिचान गरिएका खेलाडीको क्षमता विकास गराउनुपर्नेमा पनि नगर प्रमुख राईले जोड दिनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख दमन्तादेवी चुडालले नगरपालिकाले खेलकुद क्षेत्रलाई महत्त्वका साथ हेरेको बताउनुभयो । ‘विद्यालय स्तरमा गरिने खेलकुद प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा टेवा पुग्छ’, उपप्रमुख चुडालले भन्नुभयो, ‘ विद्यार्थीको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धिका लागि खेलकुद अपरिहार्य छ ।’

प्रतियोगितामा रतुवामाई नगरपालिकाका १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा खेलकुद परिषद्बाट सहभागी प्रशिक्षकहरुले सबै खेल खेलाउने छन् । ३०० बढी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा ५ लाख बराबरको खर्च हुने कार्यक्रम संचालक दिनेशकुमार बिष्टले जानकारी दिनुभयो ।
प्रतियोगिताका खेलहरुमा भलिबल छात्र/छात्रा अलगअलग र एथलेटिक्स तर्फ छात्र र छात्राहरु दुबैको सहभागी रहने गरि खेल खेलाइने छ ।
कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल, शिक्षा शाखा प्रमुख सुरेश निरौला, सशस्त्र प्रहरी बल सौठाका प्रमुख टेकेन्द्र कटुवाल, नेपाल प्रहरी सिजुवाका प्रमुख विष्णु खड्का लगायत सहभागी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।